कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने • Image Khabar Image Khabar


कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने


Imagekhabar
२६ आश्विन २०७६, आईतवार ०९:३६

कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने

कञ्चनपुर, असोज २६ । यस वर्ष कञ्चनपुर जिल्लामा धानको उत्पादन २५ प्रतिशत घट्ने आँकलन गरिएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गतवर्षको तुलनामा कञ्चनपुरमा यस वर्ष २५ प्रतिशत धानको उत्पादन घट्ने देखिएको हो । समयमै पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र बाला लाग्ने समयमा समेत पानी नपरेकाले धानको उत्पादन घट्ने अनुमान गरिएको हो ।

कञ्चनपुरमा गत वर्ष १ लाख ५० हजार २८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २५ प्रतिशतले उत्पादन घट्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए । उनले खेतीयोग्य जमिनको ३३ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाईको सुविधा भएको बताउँदै असिंचित क्षेत्रमा धानको उत्पादन ह्वात्तै घटेको जानकारी दिए ।

उनका अनुसार यस वर्ष अधिकांश किसानहरुले उन्नत जातको धानको बिउ ‘गरिमा’ लगाएको र त्यसमा बाला नलागेकाले पनि धानको उत्पादन घट्ने देखिएको हो । कञ्चनपुरमा ४८ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्