Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


विमानस्थलको अध्यागमनले चिनेन नक्कली पासपोर्ट


0
Shares

काठमाडौं । अध्यागमनमा भइरहेका त्रुटि सच्याउन भन्दै सरकारले गत वर्ष मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा बायोमेट्रिकसहितको अत्याधुनिक प्रविधि जडान गर्‍यो । करिब १३ करोड लगानी गरेर सुरु गरिएको ‘नेपाल पोर्ट’ नामक नयाँ प्रणालीपछि पनि अध्यागमनमा हुने बेथिति रोकिएको छैन । 

हालै दुई बंगलादेशी नागरिकले नक्कली पासपोर्ट प्रयोग गरेर यात्रा गर्दा पनि ‘नेपाल पोर्ट’ले पहिचान गर्न सकेन । नक्कली पासपोर्टमा नेपाल हुँदै क्यानडा जान खोज्ने दुई बंगलादेशीलाई कतारको अध्यागमनले फर्काइदिएपछि मात्र नेपालको अध्यागमनले थाहा पायो । बंगलादेशी नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिम क्यानडाको पासपोर्ट लिएर नेपाल आई केही दिन बसेर कतार हुँदै क्यानडा जान लागेका थिए । आगमन र प्रस्थानमा दुवैपटक अध्यागमनमा जाँच हुँदा पनि उनीहरूको पासपोर्ट नक्कली भएको पहिचान हुन सकेन । 

गत ७ चैतमा कतारको अध्यागमनले पासपोर्ट जफत गरी उनीहरूलाई नेपाल नै फर्काइदिएको थियो । केही दिन हिरासतमा राखे पनि उनीहरूलाई मुद्दा नै नचलाई अध्यागमन विभागले बंगलादेश निष्कासन गरेको छ । उनीहरूलाई १२ चैतमै बंगलादेश पठाइएको थियो । जबकि निष्कासनको निर्णय भने २० चैतमा भएको छ । संदिग्ध आचरण भन्दै उनीहरूलाई तीन वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । 

‘नेपाल पोर्ट’मा यात्रुको आइरिस (आँखाको रेटिना) तथा औँठाछापसमेत रहने भएकाले एउटाको पासपोर्ट अर्काे व्यक्तिले प्रयोग गर्न नसक्ने बताइएको थियो । दुई बंगलादेशी केही महिनाअघि बंगलादेशकै पासपोर्टमा नेपाल आएका थिए । पहिला एउटा पासपोर्ट र पछि अर्काे पासपोर्ट प्रयोग गर्दा पनि अध्यागमनको सिस्टमले पत्ता लगाउन नसकेपछि अध्यागमनको नयाँ प्रविधिमाथि समेत प्रश्न उठेको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्य बंगलादेशीहरूको पासपोर्ट मेसिनले रिड गरेको, तर नक्कली भनेर पत्ता लगाउन नसकेको बताउँछन् । ‘उनीहरूको क्यानडाको भिसासमेत थियो,’ उनी भन्छन्, ‘त्यही भएर हामीले शंका गरेनौँ, पछि पासपोर्ट नक्कली प्रयोग गरेको भनेर आएपछि निष्कासन गरेका छौँ ।’ दुवैलाई आफूहरूले पक्राउ गरेर विभागमा पठाएपछि मुद्दाको विषयमा जानकारी नभएको उनी बताउँछन् । 

यो प्रकरणपछि अध्यागमनले एकपछि अर्काे गल्ती गरेको छ । हाल विदेशीलाई ‘अन अराइभल’ भिसा नभए पनि दुवै बंगलादेशीलाई भने जरिवाना तिराएर ‘अन अराइभल’ भिसा दिइएको थियो । दुवैजना त्यहाँका व्यापारी भएको अध्यागमन स्रोत बताउँछ । नक्कली पासपोर्टमा अमेरिका, क्यानडा पठाउने समूहले उनीहरूलाई त्यसरी क्यानडा लैजान लागेको थियो । 

सक्कली पासपोर्ट तथा भिसाको प्रयोगलाई अध्यागमनसम्बन्धी अपराधमा सबैभन्दा गम्भीर किमिसको अपराध मानिन्छ । तर, अध्यागमन विभागले यस्तो कसुरमा पनि उनीहरूमाथि अनुसन्धान नै गरेन । विभागले २५ हजार रुपैयाँ जरिवाना तिराएर उनीहरूलाई निष्कासन गरेको छ ।

‘नेपालमा कमजोर सजाय हुने भएकाले नै अन्तर्राष्ट्रिय अपराधीहरूले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्,’ अध्यागमन विभागकै एक अधिकारी भन्छन्, ‘यति गम्भीर मुद्दामा विदेशीलाई मुद्दा नचलाउँदा यसमा संलग्न गिरोहको झन् मनोबल बढेको छ ।’ नेपाल अध्यागमन ऐनको दफा ५ मा यस्तो अपराधमा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । 

नेपाल हुँदै बंगलादेशी नागरिकलाई तेस्रो देश पठाउने गिरोह केही वर्षयता सक्रिय छ । नेपाल हुँदै नक्कली कागजपत्रमा अन्य देश जान खोज्ने केही पक्राउ परे पनि नाइकेहरूमाथि अनुसन्धान नै हुने गरेको छैन । नयाँ पत्रिका