Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चिनियाँ खोप लगाउन जहाज चढेर आउन थाले भारतीय व्यापारी


0
Shares

काठमाडौं । चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् ।

भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन् ।

२० भारतीय व्यापारीले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रमा चिनियाँ भेरोसेल खोप लगाएका छन् ।

‘चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरुलाई खोप लगाइदियौं । पछि उनीहरु भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो’, टेकु अस्पतालका एक चिकित्सकले भने, ‘यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौंका अन्य र काठमाडौं बाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएका हुन सक्छन् ।’

टेकु अस्पतालका स्वास्थ्यकर्मी शंकर पाण्डेका अनुसार बुधबार पनि टेकु अस्पतालमा ३० जना भारतीय व्यापारी खोप लगाउन आएका थिए ।

चिकित्सकहरुले नागरिकताविना लगाउन नसक्ने बताएपछि उनीहरुले हिजोचाहि किन लगाएको त भनेर विवादसमेत गरेका थिए ।

विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो । टेकु अस्पतालका निर्देशक सागराराज भण्डारीले भारतीयहरुको दबाब बढेपछि बुधबार खोप सेवा बन्द गरिएको बताए । नयाँ पत्रिका