२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


त्रिविको उपकुलपतिमा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश


0
Shares

काठमाडौं, असोज १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भगवान कोइरालाको नाम सिफारिश गरेको स्रोतले जनाएको हो ।

दोस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै डा. कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रस्ताव गरेको समाचार यसअघि नै पनि सार्वजनिक भएका थिए ।

डा. बाँस्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाएका थिए भने डा. पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुन् । डा. बाँस्कोटा नाक कान घाँटी रोगका विशेषज्ञ हुन् । तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन उपकुलपति डा. तीर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा साउन २० मा समिति गठन गरेको थियो ।  सिफारिश नाम शिक्षा मन्त्रीले हिजो प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

समितिले समयमै नाम सिफारिश गर्न नसक्दा दुई महिनादेखि सुधा त्रिपाठी निमित्त उपकुलपतिका रुपमा कार्यरत छिन् ।