सिमकोट ।
हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङमा बुधबार बिहान हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा चालकसहित चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहान ८ः३५ बजे पाङलाथुङबाट हिल्सातर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको बोलेरो जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा सुर्खेतको बराहताल गाउँपालिका–७ निवासी २८ वर्षीय चालक रमेश सिजापति, सिमकोट गाउँपालिका–७ पाङलाथुङका २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगासरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन्।
दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी जिल्ला अस्पताल हुम्लामा उपचारका लागि ल्याइएको थियो। जिल्ला अस्पताल हुम्लाका प्रमुख डा। उमाकान्त तिवारीका अनुसार चारै जनाको उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार चालक सिजापतिको टाउकोमा चोट लागेको छ। त्यसैगरी गंगबहादुर शाहीको टाउको तथा दुवै हातमा, गंगासरा शाहीको टाउको र चिउँडोमा तथा गोकुल शाहीको दुवै हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्गम हिमाली क्षेत्रमा भएको यस दुर्घटनाले सवारी साधनको नियमित प्राविधिक परीक्षण, सडक सुरक्षासम्बन्धी मापदण्डको पालना तथा यात्राअघि सवारीको अवस्थाबारे विशेष ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्