Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या एकदमै कम रहेको युरोपेली नियामकको निष्कर्ष


0
Shares

एजेन्सी । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अवस्थालाई एकदमै कम असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ।

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो ।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको बीबीसीले जनाएको छ ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ । यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो ।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएको र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने निकै दुर्लभ रहेको जनाएको छ ।

हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन् । जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।