Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बालाजु, नयाँबजार, सोह्रखुट्टेमा आजदेखि मेलम्चीको पानी


13
Shares

काठमाडौं । बालाजु, नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा आजदेखि मेलम्चीको पानी आएको छ ।

उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेपछि पानी आएको हो । बलाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएको थियो ।

अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी रहेको लिमिटेडले जनाएको छ। लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ। पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएको थियो भने त्यसलाई बढाएर दैनिक साढे आठ करोड लिटर आइरहेको छ ।

पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो। एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ।

अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पानि ल्याउन सकिनेछ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ।