Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


देउवा निवासमै पुगेर दाहालले फेरि गरे प्रधाानमन्त्रीको ‘अफर’


0
Shares

काठमाडौं । वैकल्पिक सरकार निर्माणमा अन्योल बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् ।

बूढानीलकण्ठस्थित निवासमै गएर भेटेका दाहालले देउवालाई कांग्रेस, माओवादी र जसपा गठबन्धनमा सरकार निर्माण गर्ने विषय राखेका थिए ।

दाहालले यसअघि नै देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए । यसपटक पनि उनले त्यही कुरालाई दोहोर्‍याएको स्रोतले बतायो ।

देउवाले वैकल्पिक सरकार निर्माणका लागि आवश्यक संख्या पुग्ने परिस्थिति नबनेको भनाइ राखेका थिए ।

दाहालसँग देउवाको केही आशंका थिए । फागुन २३ मा अदालतले गरेको निर्णयको विरोधमा मंगलबारै पुनरावलोकनमा गएको प्रति पनि देउवाले आशंका जनाएका थिए ।

‘एकातिर अदालतमा पुनरावलोकन गर्ने, अर्कोतर्फ सरकारबाट अलग भएको निर्णयसमेत नलिएको कारण देउवालाई फेरि एमाले र माओवादी मिल्न त खोजेको होइन भन्ने आशंका थियो, त्यही आशंका दाहालसँग राख्नुभएको छ’, देउवानिकट स्रोतले भन्यो, ‘सरकार बनाउने विषयमा जसपाको पोजिसन प्रष्ट नहुँदा सम्भव नहुने कुरा दोहोर्याउनुभयो ।’

तीन दलीय गठबन्धनमा सरकार निर्माण गर्न जनता समाजवादी पार्टी (जसपा) को सिंगो समर्थनबिना सम्भव छैन ।

जसपामा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोको समूहले सरकारसँग निकटता बढाइरहेको छ ।

निलम्बित सांसद रेशम चौधरीलगायत नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग पूरा गरेमा ओली नेतृत्वकै सरकारलाई समर्थन दिन सकिने ठाकुर समूहको लाइन छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको समूहले भने ओली सरकारलाई समर्थन दिने र सहभागी हुने कुरा कुनै पनि सर्तमा सम्भव नहुने अडान स्पष्ट राखेको छ ।

दाहालसँग देउवाले आधा घण्टा कुराकानी गरेका देउवाले सरकारबाट अलग नभएको भनी प्रश्न गरेका थिए । त्यसक्रममा दाहालले चाँडै नै सरकारबाट अलग्गिने जानकारी देउवालाई गराएका थिए । कान्तिपुर