
काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो ।
आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर प्रतीत पाकिस्तानी लोकतन्त्रमा आज हुने निर्वाचनले कसका पक्षमा फैसला देला भन्ने चासो भने विश्वभर बढेको छ ।
निर्वाचनमा मूख्य गरी दिवंगत बेनेजीर भुट्टोको छोरा बिलाबल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी), पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ (पीटीआई) र पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा रहेको छ ।
यी तीन दलमा यस पटक पूर्व क्रिकेटर इमरान खानको पीटीआईले अरु पार्टीलाई पछाडी धकेल्ने निर्वाचन पूर्वका सर्वेक्षणहरुले देखाएका छन् । यद्यपि, पीटीई र मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा हुनसक्ने केहीले जनाएका छन् ।
निर्वाचन घोषणा भएयता हिंसामा झण्डै दुई सय मानिस मारिएको मतदानका समयमा सुरक्षा प्रबन्ध गर्नु निकै चुनौती मानिएको छ । निर्वाचनमा दश करोड ६० लाख मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।
त्यहाँ मानव अधिकार आयोगले निर्वाचन परिणाम प्रभावित बनाउन हिंसाको प्रयोग हुनसक्नेमा सचेत गराएको छ । निर्वाचनमा सुरक्षा प्रदान गर्नका लागि लाखौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पाकिस्तानमा संसदको तल्लो सदन नेशनल एसेम्बलीको ७० सीट महिला र अल्पसंख्यकका छुट्टयाइएको छ । यी सीट भने पाँच प्रतिशत मत पाउने दलले समानुपातिक रुपमा विभाजन गर्नेछन् ।
यसअघि सन् २०१३ मा गरिएको निर्वाचनमा पाकिस्तान मुस्लिम लीग विजयी बन्दै नवाज शरीफ प्रधानमन्त्री बनेका थिए । तर उनी अहिले भ्रष्टाचारको मुद्दामा जेलमा छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्