Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


रूपन्देहीमा वडाध्यक्षकै मिलेमत्ताेमा किर्ते गरी जग्गा पास


0
Shares

भैरहवा । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन्। अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन्। तिरथका छोरा परशुराम हुन्। 

उनी सानै छँदा बुवाआमाको मृत्यु भयो। तीन भाइले पुख्र्यौली सम्पत्ति अंशबन्डा गरे। तर, परशुरामलाई दिएनन्। २०४९ मा परशुरामले काकाहरूसँग अंश दाबी गरे। त्यसबेला कान्छा काका भोला यादवले परशुराम अंशियार नभएको अडान लिएका थिए।  त्यसपछि दिदी र अन्य काकाहरूको सहयोगमा परशुरामले जिल्ला अदालत रूपन्देहीमा अंश मुद्दा दायर गरे। 
अदालतले २०५५ मा उनको पक्षमा फैसला गरेपछि बराबरी अंश पाए। जन्मजात बौद्धिक अपांग भएकाले उनी सानैदेखि दिदी बोधी यादवकोमा बसेका थिए। गत माघ १ गते काका भोलाका जेठो छोरा राजेन्द्रले बुवा बिरामी भएको बहानामा परशुरामलाई आफ्नो घर लिएर गए। 

सोही बहानामा जालझेल गरी किर्ते कागजात बनाएर उनको नाममा सियारी गाउँपालिका–२ र ३ मा रहेको १७ कठ्ठा १० धुर जग्गा अन्यको नाममा पास गराइएको परशुरामका आफन्त राजकुमार यादव बताउँछन्। १७ कठ्ठा १० धुरमध्ये १३ कठ्ठा ७ धुर भोलाका कान्छा छोरा जोगिन्द्रको नाममा पास भएको राजकुमारको दाबी छ। त्यसैगरी ४ कठ्ठा ३ धुर स्थानीय जग्गा व्यापारी ढालबहादुर चौधरीका छोरा चूडामणि चौधरीको नाममा माघ २२ गते पास भएको बताइएको छ। 

जग्गा जोगिन्द्र र चूडामणिका नाममा गराउन ढालबहादुर समूहले परशुरामको स्थायी ठेगाना परिवर्तन गरी सियारी–३ को ठेगानाबाट नयाँ नागरिकता बनाइएको रामकुमार बताउँछन्। १३ कठ्ठा ७ धुर जग्गा पास गराउनका लागि सियारी–३ का वडाध्यक्ष घिसन यादवले परशुरामको जग्गाको चार किल्ला दिँदा पक्की बाटोलाई कच्ची उल्लेख गरेका उनको भनाइ छ। 

जग्गाको मूल्यांकन घटाएर राजस्व छलीसमेत गरिएको पाइएको छ। सियारी–३ को जग्गा पास गराउने जोगिन्द्र वडाध्यक्ष घिसनका ज्वाइँ हुन्। सियारी– २ को बाँकी ४ कट्ठा ३ धुर जग्गा पासका लागि चौधरीको समूहले वडाध्यक्ष रामकिसुन थारूको किर्ते हस्ताक्षर गरिएको छ। त्यहाँको चार किल्लाको फोटोकपीको भरमा जग्गा पास गराइएको पशुरामका काकाका छोरा पीताम्बर यादवको भनाइ छ। 

यसबारेमा जिज्ञासा राख्दा सियारी–२ का वडाध्यक्ष रामकिसुन थारू आफूले चूडामणिको नाममा पास भएको ४ कठ्ठा ३ धुर जग्गाको चार किल्ला प्रमाणित नगरेको दाबी गरे। ‘चार किल्ला प्रमाणित गराउन मलाई फोन गरेका थिए त्यस दिन बाहिर रहेकोले मैले चार किल्लामा हस्ताक्षर गरेको छैन’ उनले भने– ‘खै उनीहरूले कहाँबाट कसरी मेरो हस्ताक्षर किर्ते गरेर जग्गा पास गराएका छन् मलाई थाहा छैन।’रूपन्देही