Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून


0
Shares

corona virus death

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । 

भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो । सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो । 

भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोभिड भ्याक्सिनविरुद्ध तीनवटा खोप (फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन) खोप लगाउने क्रम जारी छ । कोभिडविरुद्धको खोपपछि संक्रमण नियन्त्रणमा आशा थियो । अमेरिकारले गत डिसेम्बर ११ फाइजर र १४ मा मोडर्ना खोप सुरुवात गरेको थियो । 

अमेरिकामा ११ डिसेम्बर र भारतमा १६ जनवरीमा खोप सुरु भए पनि संक्रमण नियन्त्रण भएन, भारतमा एकैदिन ४७ हजार संक्रमित हुँदा कोरोनाको नयाँ भेरियन्टबाट ९७५ संक्रमित

तर, खोप अभियान सुरु भएको चार महिनामा पनि अमेरिका कोभिड संक्रमणको गतिमा सबैभन्दा अगाडि नै छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको तंथ्याकअनुसार आइतबार र सोमबार अमेरिकामा ४५ हजारका दरले संक्रमित थपिएका छन् । 

अमेरिकामा अहिलेसम्म पाँच लाख ५५ हजारको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट २७ लाख २८ हजारको ज्यान गएको छ । त्यस्तै, १२ करोड ३८ लाख ९४ हजार संक्रमित भएकामा नौ करोड ९८ लाख निको भएका छन् । 

संक्रमणको सूचीमा ब्राजिल दोस्रो छ । यहाँ पनि एक सातायता संक्रमण झन् बढेको छ । गत शुक्रबार ब्राजिलमा ७३ हजारमा नयाँ संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४७ हजार नयाँ संक्रमित भेटिएका छन् । यहाँ सोमबार ५३ हजार र आइतबार ४७ हजार संक्रमित भेटिएका थिए । ब्राजिलमा कोरोनाको नयाँ ‘भेरियन्ट’ तीव्र रूपमा फैलिएको छ । 

अफ्रिकी देशहरूमा पनि भाइरसको नयाँ भेरियन्ट देखिएपछि संक्रमणको दर बढेको छ । दक्षिण अफ्रिकामा गत डिसेम्बरमा नयाँ ‘भेरियन्ट’ फैलिएसँगै संक्रमण दोब्बर गतिमा बढेको छ । दक्षिण अफ्रिका, इथियोपिया र लिबियामा संक्रमणको दर बढेको छ । यसबाहेक युरोपेली देश फ्रान्स, पोल्यान्ड, इटालीमा पनि संक्रमण उच्च भएको छ ।

भारतमा संक्रमण तीव्र फैलिएपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र काम नगर्न आग्रह गरेको छ । 

गत वर्षजस्तै भारतबाट आउनेको माध्यमबाट संक्रमण भित्रिने जोखिम बढेको भन्दै समयमै सजगता अपनाउन चिकित्सकहरूले समेत अनुरोध गरेका छन् । सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला भन्छन्, ‘नेपालमा संक्रमण नियन्त्रणमा आए पनि शून्यमा झरेको छैन । भारतमा नयाँ भेरियन्ट फैलिएको आशंका गरिएकाले नेपालसम्म आइपुग्न समय लाग्दैन । भाइरसको प्रकृति पत्ता लगाउन सक्ने हामीसँग सुविधा पनि उपलब्ध छैन, मापदण्ड पालना भइरहेको छैन, समयमै सजग नहुने हो भने नेपालमा पनि संक्रमणको दोस्रो लहरको आशंका गर्न सकिन्छ ।’

भारतमा संक्रमण बढिरहँदा हामीले नजरअन्दाज गर्न नमिल्ने बताउँछन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । भन्छन्, ‘अघिल्लो वर्षको उदाहरण ताजै छ, समयमै सीमानाका बन्द नगर्दा संक्रमण फैलिएको थियो । अहिले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउने हो भने पुरानै इतिहास दोहोरिन सक्छ, सजग होऔँ ।’ नयाँ पत्रिका