दिग्भ्रमित राजनीति र दिग्दर्शन नपाएको नयाँ पुस्ता « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


दिग्भ्रमित राजनीति र दिग्दर्शन नपाएको नयाँ पुस्ता


13
Shares


सन्जिव कार्की 

पुस्तान्तरणमा अग्रजको सबै कुरा सरेको हुन्छ । पुस्ता पुस्ता हुँदै आजको पुस्ता र भोलिको पुस्तालाई पूर्वजका धर्म, संस्कृति, समाज, राजनीति, मनोविज्ञान लगायत यावत कुराको प्रभाव र अस्तित्व गाँसिएर आएको हुन्छ । समाजको बहुआयामिक अस्तित्व विभिन्न पुस्तामा हस्तान्तरण हुँदै आउने प्रकृति प्रद्द्त गुण देखि समाज निर्माण र परिचालित हुन्छ । अग्रजसँग जैविक र सामाजिक सँस्कृतिक रूपमा नयाँ पुस्ता भिन्न फरक र बेग्लै रहन सक्तैन । पुरानो पुस्ताको जीनमा भएको जैविक र स्वभावगत विशेषता सर्ने गर्छन तसर्थ पुरानो पुस्ता र नयाँ पुस्ता क्रमशः निरंतरताहरु हुन हिजो देखि आज पर्यन्त र भोलि पनि ।

आजको यूग ज्ञान सूचना, विज्ञान र प्रबिधिको यूग हो आज विगत भन्दा धेरै सहज छ जीवन शैली र हर क्षेत्रमा । त्यसैले आजको पुस्तालाई स्मार्ट पुस्ताको रूपमा पुकारिन्छ । जतिसुकै नवीन यूग र आधुनिक पुस्ताको जमात भए पनि नेपाली राजनीतिमा रहेका विभिन्न पार्टीमा सक्रिय रहेका युवा पुस्तालाई आधुनिक सशक्त र सुसंस्कृत राजनीति र नेतृत्वसँग जुध्ने र आफ्नो हातमा राज्य सत्ता र पार्टी सत्ता लिने ह्याउ नगन्य छ । भएकाहरुमा पनि अपेक्षित भन्दा धेरै कम पर्फमेन्स छ । हिम्मत हुनेहरू आफ्नैसँग पनि जुधेर नेतृत्व दावी गर्छन् र युग नायक बन्ने अवसर पाउँछन् । भन्नेहरूले आलोचना गर्नेहरुले दुई भाइको इगोको लडाइँ भने पनि आफ्ना दाजु मातृका प्रसाद कोइरालालाई पाखा लगाएर बी पी कोइरालाले काङ्ग्रेसको नेतृत्व आफ्नो हातमा पारेका थिए ।

जतिबेला बीपी परिपक्व उमेरको थिएनन तर नेतृत्व क्षमता र दुरदर्शिताको कारण उनी अमर र उदाहरणयोग्य राजनीतिज्ञ बन्न सफल भए । नेतृत्व मागेर, याचना गरेर, आशिर्वाद र धाप मारेर पाइने चिज होइन तर यदाकदा नेतृत्वमा पुग्नेहरु यस्ता पनि छ्न तर जो हुक लगाएर, आशिर्वाद र चाकरी गरेर नातावाद र कृपावादले माथि पुगेका छ्न तर आम चलन चल्तीको उखान झैं ती बोकेको कुकुर भएका छन् । बोकेको कुकुरले शिकार गर्दैन मात्रै मालिक भक्ति गर्छ र पुच्छर हल्लाउँछ, कुत्तागिरी गर्छ । आजका हुक लाएर तानिएका सबै नेता सबै पार्टी र तिनका सदस्यको हाल यही हो ।

नेतृत्व राजनीति र संघर्षको मैदानबाट खारिएर आउनु पर्छ त्यस्तो नेताले मात्रै आफू अघिको पुस्तालाई च्यालेन्ज गर्ने हैसियत राख्नेछ,राखेको देखिन्छ । रुञ्चे पुस्ता, आसामूखि पुस्ता, पानी मरुवा पुस्ता, विद्रोह गर्न नसक्ने कायर पुस्ता । कम्युनिस्ट पार्टीमा झन निकम्मा र दास पुस्ताको स्कुलिङ छ तसर्थ त्यहाँ नेतृत्व हस्तान्तरणको सबाल आफ्नो स्थान सुरक्षित राख्न र आफू मुनिका पुस्तालाई प्यादा बनाइ राख्न कामयवी भएको पाइन्छ ।

डेमोक्रेटिक भनिने काङ्ग्रेसमा केही खुकुलो प्रावधान भए पनि समग्रमा युवा पुस्ता आशिर्वाद र हुक कै अपेक्षा राख्नेको बाहुल्यता छ । जन्म दिने बाउ आमाले आफ्ना सन्ततिलाई जहिल्यै बालखै देखे झैं अहिलेका बुढा पुस्ताका नेताहरू आफू मुनिका नेतालाई कहिल्यै परिपक्व र भरलाग्दो देख्दैन फलस्वरूप आर्यघाटको यात्रामा पनि आफ्नो पदको कुर्सी सँगै रहोस् भन्ने पदमोह र शक्ति मोहको बाहुपासमा नेताहरू रहेको देखिन्छ । 

नेपाली राजनीतिका दुर्लभ पात्र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संसद पद दोस्रो पुस्तालाई हस्तान्तरण गरे पनि पार्टीको कार्यभार आफैले बहन गरेका छन् यद्यपि सुनिश्चित संसद पद अर्काको लागि छोडने उदाहरण अति कम छन जुन रोहितले गरे । अपवाद बाहेक नेपाली राजनीतिमा पछिल्लो पुस्तालाई विश्वास गर्ने र लोभ मोह बाट थोरै भए पनि पर बस्ने परिपाटीको बिकास हुन सकेको छैन जसले गर्दा आजिवन पद मोह सत्ता मोह र शक्तिशाली भै रहनुपर्ने बानी आम पार्टीका आम नेताहरूमा रहेको छ । पुरानो पुस्ताको यो स्वभाव र बानी स्वत नयाँ पुस्तामा सर्ने छ जसको कारण भावी पुस्ता पनि अहिले भनिएका युवा नेताकार्यकर्ता जस्तै आशामुखी मात्रै बन्ने आफै आफ्नै बुता र विवेकले पार्टी सत्ता र राज्य सत्तामा पुग्ने हिम्मत जुटाउन नसक्ने खतरा रहिरहन्छ । यो खतरा देश र दुनियाँको सुख समृद्धि र सुसंगत व्यवस्थाको बिरुद्धको खतरा हो ।

पुरानो पुस्ता जो आर्यघाट जाँदा समेत कुर्सी लिएर जान चाह्न्छ त्यही पुस्ताका विरुद्ध रचनात्मक प्रतिद्वन्दी भएर प्रतिस्पर्धामा युवाहरू उत्रन जरुरी छ । अन्यथा समयको खेलो फडकोमा याचक भएर रहनुको विकल्प छैन । जसको प्रकारान्तरको अर्थ भनेको राजतन्त्रको विकल्प मात्रै हो । राजाको मृत्यु नहुन्जेल राजकुमार राजा नबन्ने परिस्थितिको नयाँ संस्करण । पुरानो पुस्ताको संघर्ष ,ज्ञान ,अनुभव र नेतृत्व गुणको यथेष्ट सम्मान गर्दै नयाँ पुस्ताले राजनीतिको मियो नबने सम्म देश अझै यस्तै गन्जगोल र भद्रगोल रहन्छ । युवाको मतलब यो होइन कि जो पाखुरा बलिया र जुँगा मुठे र उमेर कलिलो होस् । ऊ त्यस्तो हुनु जरुरी छ जो विवेक बुद्धि र निष्ठा अनि ज्ञानले पार्टीहरुको नेतृत्व गर्न सकोस् , देशको नेतृत्व गर्न सकोस् । यद्यपि सबै बुढा पुस्ताका नेता अयोग्य नै नहोलान कतिले अवसर नपाएको पनि हुन सक्छ ?

तर समग्रमा बुढा पुस्ताको नेतृत्व राजनीतिक व्यबस्था परिवर्तनको लागि सिद्धहस्त देखियो तर समाज रुपान्तरण र देशको आर्थिक अवस्था कायपलट गर्न सक्षम बनेन । राजनीति यति दिग्भ्रमित र घीन लाग्दो बन्यो कि नयाँ युवायुवतीको लागि आकर्षण बन्न सकेन । अब राजनीतिमा आकर्षण थप्न युवा पुस्ताले सबै पार्टीका बुढा पुस्तालाई बिस्थापित गर्नु आवश्यक छ । [email protected] gmail.com