२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


फूलपातीका दिन जीवित देव गणेश र भैरव परिवर्तन हुँदै


0
Shares

काठमाडौं, असोज ८ । यो वर्षको फूलपातीका दिन जीवित देव गणेश र भैरव परिवर्तन हुने भएका छन् ।

बुधबार गुठी संस्थानमा भएको जीवित देवी कुमारी, देव गणेश र भैरव छनोट समितिको बैठकले फूलपातीका दिन वर्तमान जीवित देव गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्न निर्णय गरेको हो ।

यसका लागि छनोटको जिम्मा शाक्य महाविहार संघलाई दिइएको छ ।

संघले काठमाडौंका १८ ओटा बज्रयानी महाविहारअन्तर्गत् रहेको शाक्य कुलपुत्रहरुबाट तीनदेखि पाँच वर्षका बालकहरु गणेश र भैरव छनोटका लागि बिहीबारदेखि आह्वान गर्ने जनाएको छ ।

असोज १४ गतेभित्र आएका नाम र चिनाहरुबाट संघले सुरुमा गणेश र भैरवका लागि तीन/तीनजना छनोट गर्नेछ ।

त्यसमध्येबाट ज्योतिषलाई चिना देखाएर ३२ लक्षणयुक्त बालकहरु गणेश र भैरवका लागि गुठी संस्थान, राजगुरु, तलेजुका मूल पुजारी, इन्द्रजात्रा व्यवस्थापन समिति, कुमारीघरका चिताइदार, वर्तमान तथा भूपू जीवित गणेश भैरव संरक्षण समितिलगायतको छनोट समितिले छनोट गर्ने जनाइएको छ ।

गणेश र भैरवका लागि छानिएका दुई बालकहरुलाई बज्रयानी, वैदिक र तन्त्र परम्पराअनुसार फूलपातीका दिन तलेजुका मूल पुजारीले नयाँ जीवित देव गणेश र भैरवकारुपमा प्रतिस्थापन गर्नेछन् ।

वर्तमान गणेश १४ वर्षीय संवेग शाक्य र भैरव १४ वर्षीय रोजन शाक्यको उमेर किशोरावस्थामा पुग्न लागेकाले नयाँ गणेश र भैरव परिवर्तन गर्न लागिएको हो ।

आउँदो वर्ष कुमारी जात्राका दिन नयाँ गणेश र भैरवको रथयात्रा हुनेछ ।