काठमाडौं । इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना भारतको जेलमा विनासुनुवाइ ४१ वर्ष बिताएर शनिबार थुनामुक्त भए । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट दिउँसो करिब साढे १२ बजे रिहा भएपछि दुर्गाप्रसादले बोलेको पहिलो वाक्य थियो– म निर्दोष थिएँ ।
२० वर्षको उमेरमा जेल परेका तिम्सिना ६१ का भए । उनी मानसिक रूपमा ९ वर्ष ९ महिनाको बालकजस्तै रहेको कोलकाता विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको परीक्षणले पत्ता लगाएको थियो । उनी मानसिक रूपमा मात्रै होइन, शारीरिक रूपमा समेत असाध्यै कमजोर देखिन्छन् ।
सेता कमिज पाइजामा लगाएर उनलाई प्रहरी र आफन्तले समाएर बाहिर निकालेका थिए । उनी राम्ररी हिँड्न पनि सक्दैनन् । युवा उमेरमा जेल परेका दुर्गाप्रसाद ४१ वर्षपछि बाहिरी संसारमा आउँदा खुलेर बोल्न सकेनन् । चार दशकपछि थुनामुक्त भएका दुर्गाप्रसादलाई लागेछ– कतै जेल सार्न लागेको बुझेछन् । रिहाइ भएपछि गाडीमा फर्कँदै गर्दा उनले मलिन स्वरमा प्रश्न गरे– हामी दार्जिलिङ जान लागेको हो ? ‘प्रत्येक ६ महिनामा उनलाई दार्जिलिङ जिल्ला अदालतमा हाजिर गराउन लगिने गरेको रहेछ, त्यसै कारण उनले यो प्रश्न गरेको हुन सक्छ,’ तिम्सिनालाई लिन पुगेका उनका भाइ प्रकाशचन्द्र बताउँछन् ।
दुर्गाप्रसाद राम्ररी बोल्न सक्दैनन् । केही प्रश्नको जवाफ दिन्छन्, तर मलिन स्वरमा । ४१ वर्षअघि युवा अवस्थामा जेल परेका दुर्गाप्रसादको न्यायको आवाज जसरी दबिए, उनको स्वर पनि उसै गरी दबिएको छ । रिहाइ हुनेबित्तिकै उनलाई सञ्चारकर्मीले घेरे । उनलाई सञ्चारकर्मीले अनेक प्रश्न गरे । तर, उनले बोल्नै सकेनन् । उनको मलिन आवाजमा जम्मा एउटा वाक्य निस्कियो– म निर्दोष थिएँ ।
दमदम जेलबाट कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालय करिब एक घन्टाको दूरीमा पर्छ । जेलबाट ल्याउन महावाणिज्य दूतावासले गाडी उपलब्ध गराएको थियो । गाडीमा उनका भाइ प्रकाशचन्द्रले पुराना कुरा स्मरण गराए । तर, उनले कुनै प्रतिक्रिया दिएनन् । भाइ प्रकाशचन्द्रले मोबाइलमा उनकी वृद्ध आमाको फोटो देखाएर सोधे, ‘उहाँ को हो ?’ ४१ वर्षपछि पनि आमाको तस्बिर भने उनले चिने । ‘आमा’ जवाफ फर्काए । त्यसपछि सानो स्वरमा एउटा गीत गुनगुनाए– ‘रेसम फिरिरी…।’
दाइलाई लिन गएका भाइ प्रकाशचन्द्र दाइले ४१ वर्षसम्म अन्याय भोगेको भन्दै निकै भावुक देखिए । ‘मेरो दाइको जस्तो अन्याय कसैलाई पनि नहोस्,’ उनले भक्कानिँदै भने, ‘दाइको त जीवन नै सकियो । कस्तो मान्छे कस्तो हुनुभयो । पहिला हामी खेल्दै हुर्किएका थियौँ । अहिले उहाँको अवस्था यस्तो भयो ।’ शारीरिक अवस्था हेर्दा विगतमा दुर्गाप्रसादले शारीरिक यातना भोगेको देखिने प्रकाशचन्द्र बताउँछन् । ‘खुट्टामा चोट देखिन्छ । उहाँले चोट देखाउनुभयो,’ उनी भन्छन्, ‘यो हेर्दा विगतमा धेरै यातना भोगेको अनुमान गर्न सकिन्छ ।’
दुर्गाप्रसादलाई छुटाउने वेस्ट बंगाल रेडियो क्लब
दुर्गाप्रसाद ४१ वर्षदेखि ट्रायलविना नै जेल बसिरहेको सूचना सबैभन्दा पहिला वेस्ट बंगाल रेडियो क्लबको ह्याम रेडियोबाट प्रकाशित भएको थियो । क्लबले दुर्गाप्रसादबारे समाचार मात्र प्रसारण गरेन, नेपालमा आफन्तको खोजीका लागि सहयोग पनि ग¥यो । यही क्लबको पहलमा अधिवक्ता हिरक सिन्हाको समूहले निःशुल्क मुद्दा पनि लडिदिए । यस संस्थाका सचिव अम्बारिशनान विश्वास दुर्गाप्रसादलाई स्वागत गर्न दमदम जेल पुगेका थिए । दुर्गाप्रसादलाई आफ्नै पहलमा छुटाउन पाउँदा उनी निकै भावुक देखिए । ‘दीपक जैसी (दुर्गाप्रसाद) छुट्दा म निकै खुसी छु । यो खुसी म व्यक्त गर्नै सक्दिनँ,’ भक्कानिँदै विश्वासले भने, ‘घरमा उहाँकी ८५ वर्षकी आमा हुनुहुन्छ । अब उहाँ आमालाई भेट्न जाँदै हुनुहुन्छ । यो हाम्रो क्लबको ठूलो उपलब्धि हो ।’ विश्वास दुर्गाप्रसादलाई अँगालो हाल्दै केही समय भावुक बने ।
छुटाउन दमदम जेल पुगेका विश्वासले दुर्गाप्रसादका लागि कमिज र पाइजामा लगिदिएका थिए । उनी दुर्गाप्रसादको स्वागतका लागि रजनीगन्धा फूलको माला लिएर जेलसम्म पुगेका थिए । जुन माला पश्चिम बंगालमा खुसी र दुःखको क्षणमा निकै महत्वपूर्ण छ । माला बोकेर विश्वासकी छोरी सबोर्नीनाग विश्वास र श्रीमती रिंकुनाग पनि जेलसम्म पुगेका थिए । ‘हाम्रो समाजमा रसगुल्लाको जति महत्व हुन्छ त्यति नै यो रजनीगन्धा मालाको महत्व हुन्छ । दुःखको क्षणमा यो सेतो रजनीगन्धाको माला मात्र लगाइन्छ भने सुखको क्षणमा यसको बीचमा राता फूलहरू मिसाइन्छ,’ सबोनीले भनिन्, ‘४१ वर्षपछि उहाँ छुट्दै हुनुहुन्छ । उहाँलाई यो माला लगाएर रसगुल्ला खुवाएर नेपाल पठायौँ ।’ विश्वासले दुर्गाप्रसादकी वृद्ध आमा धनमाया (८५)का लागि पनि उपहारका रूपमा रसगुल्ला पठाइदिए । ‘आमा तपाईंको प्रतीक्षामा हुनुहुन्छ । अब तपाईंले चाँडै आमालाई भेट्न पाउँदै हुनुहुन्छ,’ विश्वासले भने, ‘आमाका लागि यो रसगुल्ला पठाइदिएका छौँ ।’
दुर्गाप्रसाद सन् १९८० मा दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । विभिन्न जेलमा सार्दै उनलाई १४ वर्षयता दमदम केन्द्रीय सुधार गृहमा राखिएको थियो । उनीसँगै जेल बसेका राधेश्याम दास नामका एक भारतीय नागरिकले दुर्गाप्रसादका बारेमा वेष्ट बंगाल रेडियो क्लबलाई जानकारी दिएका थिए । वेष्ट बंगाल रेडियो क्बलको पहलमा नेपालमा रहेका उनका भाइ प्रकाशचन्द्र (काकाका छोराले) गत मंसिर २ गते दाइको अवस्थाबारे जानकारी पाएका थिए । त्यसयता दाइको रिहाइका लागि उनले पहल गर्दै आएका थिए । गत १० फागुनमा जेलमा पुगेर दाइलाई भेटेका प्रकाशचन्द्रले ११ फागुनमा कोलकातास्थित उच्च अदालतमा दाइको रिहाइका लागि निवेदन दिएका थिए ।
भारतीय अदालतमा तिम्सिनाको मुद्दा दीपक जैसीको नाममा चलिरहेको छ । हत्या अभियोग लागे पनि त्यसलाई पुष्टि गर्ने कुनै बलियो प्रमाण छैन । प्रमाणका रूपमा सन् १९८० मा दार्जिलिङका नैन घलेले दिएको जाहेरी मात्र छ । तर, विनासुनुवाइ उनलाई भारतले ४१ वर्षदेखि बन्दी बनाइरहेको थियो । गत बुधबार उच्च अदालत कोलकाताले भाइ प्रकाशचन्द्रको रोहबरमा उनलाई छाड्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् । शुक्रबार भाइले सबै कागजी प्रक्रिया पूरा गरेपछि दुर्गाप्रसाद शनिबार छुटे । उनका लागि कोलकाताका अधिवक्ता हिरक सिन्हालगायतको टोलीले निःशुल्क बहस गरेका थिए ।
तर, दुर्गाप्रसादले पूर्णरूपमा न्याय पाएका छैनन् । अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै तत्काललाई छाड्ने आदेश दिएको हो । यद्यपि उनको मुद्दाको अन्तिम फैसला भएको छैन । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत दाइको अवस्था ६-६ महिनामा अदालतमा जानकारी गराउनुपर्छ,’ उनी भन्छन्, ‘न्याय कसरी पाइयो र ? दाइको फैसला भएको छैन । दिमागी अवस्था ठीक नभएको भनेर छाडिएको मात्र हो ।’नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्