न्यूयोर्क, असोज ७ । जलवायु परिवर्तनको असरबारे तत्काल कदम चाल्न आह्वान गर्दै विश्व अभियानमा रहेकी १६ वर्षीया स्वीडिस किशोरी ग्रेटा थुनबर्गले विश्वका नेताहरुलाई चेतावनी दिँदै भनेकी छिन् ‘हामी तपाईहरुलाई कहिल्यै माफ गर्ने छैनौं’ ।
अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा थुनबर्गले धन थुपार्ने र विकासको नाममा संसारभरको वातावरण बिगार्न उद्यत शासक वर्गलाई नयाँ पुस्ताले कहिल्यै माफी नदिने चेतावनी दिएकी हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै थुनबर्गले भनिन् ‘यो गलत हो । म यहाँ उभिएकी हुने थिइन । म समुद्रको अर्को किनारपट्टिको विद्यालयमा हुने थिएँ । र पनि तपाईँहरु सबै मसम्म आश लिएर आउनुभएको छ ? कसरी आँट गर्नुभयो यस्तो !
तपाईँहरुले मेरो सपना खोस्नुभयो, मेरो बालापन खोस्नुभयो आफ्ना फुस्रा आश्वासनहरुले । र, पनि म केही भाग्यमानीमध्ये एक हुँ । मानिसहरु समस्याग्रस्त छन् । मानिसहरु मरिरहेका छन् । सम्पूर्ण पारिस्थितिक प्रणाली ध्वस्त भइरहेको छ । हामी आम विनाश या विलयको सुरुवातमा छौँ । र, तपाईँहरु सबैले पैसा र समग्र आर्थिक वृद्धिको सुनौला कुरामात्रै गर्नु हुन्छ । यस्तो दुष्साहस कसरी गर्नु हुन्छ !’
यो विनाशबारे विज्ञानले सचेत गराउँदा गराउँदै पनि अटेर गरिएको भन्दै थुनबर्गले सम्मेलनमा अगाडी भनिन्, ‘पछिल्लो ३० भन्दा बढी वर्षदेखि विज्ञान स्पष्ट छ । अन्तै हेर्ने दुष्साहस कसरी गर्नुभयो, र यहाँ आउनु भएको छ कि हामीले पर्याप्त प्रयास गरिरहेका छौँ, राजनीति र त्यसले समाधान चाहिँ अझै कतै देखिएकोसम्म छैन ।
हामीलाई सुनेका छौँ भन्नु हुन्छ र भन्नु हुन्छ कि अत्यावश्यकता पनि बुझेका छौँ । तर म जति नै आक्रोशित या दुःखी भए पनि, मलाई विश्वास भने छैन । किनकी यदी तपाईँहरुले अवस्था पूर्णरुपमा बुझेको र पनि आवश्यक कार्य गर्न असफल भएको भए, तपाईँहरु शायद दानव हुनुहुन्छ । र, म यो स्वीकार गर्न अस्वीकार गर्छु ।’
विश्वमा तापमान कसरी बढिरहेको छ र विश्व नेतृत्वले चालेका कदम किन असरदार बनिरहेका छैनन् भन्दै उनले भनिन्, ‘कार्बन उत्सर्जन १० वर्षभित्र आधा कम गर्ने चर्चित योजनाले हामीलाई तापमान वृद्धि १ दशमलव ५ डिसी कायम गर्ने सम्भावना मात्रै ५० प्रतिशत दिन्छ, र अपरिवर्तनीय चक्रजस्तै गरेर रहेको प्रभावको चुनौती मानव नियन्त्रण भन्दा बाहिर छ ।
हुन सक्छ तपाईँहरुका लागि ५० प्रतिशत स्वीकार्य छ । तर यो अंकले जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावलाई कम गर्न या उल्ट्याउन सक्दैन । प्रदूषणका कारण विषाक्त बन्दै गएको वायुका कारण बढी रहेको थप ताप या न्याय तथा समताको पक्षलाई छुँदैन । शायदै रहने प्रविधिहरुबाट तपाईँहरुले छोडेको अर्बौँ टन कार्बनडाइअक्साइड मैले र मेरा सन्ततीहरुले लिनु पर्ने छ । त्यसैले ५० प्रतिशत जोखिम या मात्रै ५० प्रतिशत समाधान स्वीकार्य छैन हामीलाई, किनकी हामीहरु जलवायु परिवर्तनको प्रभावमा बाँच्नु पर्नेछ ।’
निर्क भावुक रुपमा सम्बोधन गरेकी अभियन्ता ग्रेटा थुनबर्गले सम्मेलनसमक्ष भनिन्, ‘तपाईँहरुले हामीलाई असफल बनाइरहनु भएको छ । तर हामी किशोर किशोरीले तपाईँहरुको छल बुझ्न थालेका छौँ । भावी पुस्ता सबैको नजर तपाईँहरुमा छ । र यदी तपाईँहरु हामीलाई असफल बनाउने पक्ष रोज्नु हुन्छ भने हामीले कहिल्यै माफ गर्ने छैनौँ । हामी तपाईँहरुलाई यसबाट भाग्न वा पन्छिन दिने छैनौँ । अहिले र यहिँ हामीले रेखा कोर्ने छौँ । विश्व उठिरहेको छ, जागिरहेको छ । र परिवर्तन आउँदैछ, चाहे तपाईँहरु यसलाई रुचाउनुस् या नरुचाउनुहोस् ।’
सम्मेलनमा अभियान्ताहरुले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र त्यसबाट उत्पन्न असर न्यूनीकरणका लागि ठूला देशहरुसँग पर्याप्त योजना नरहेको औंल्याएका थिए ।
साना र मध्यम देशहरुले कार्वन उत्सर्जन सीमित गर्नका लागि केही महत्वपूर्ण प्रतिवद्धता जनाएपनि ठूला र शक्तिशाली राष्ट्रले त्यसतर्फ चासो नदेखाएको आरोप अभियन्ताहरुको छ ।
सम्मेलनमा ६६ राष्ट्रले मात्र हरित ग्यास प्रदुषण कम गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही ठूला देशका नेताहरु सम्मेलनमा सहभागी नै भएनन् । (एजेन्सीहरु)
प्रतिक्रिया दिनुहोस्