सागर महत (इमेज)
अर्घाखाँची, असोज ७ । आर्थिक अभावका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर–४ का रामबहादुर सुनारले आफ्ना दुई सन्तानलाई उपचार गराउन पाएका छैनन् ।
‘ब्लड क्यान्सर’को उपचार गराउन नसकेर गत वर्ष पाँचवर्षीय छोरा गुमाएका अर्घाखाँची, छत्रदेव गाउँपालिका–४ का रामबहादुर सुनारलाई अहिले अर्को बज्रपात परेको छ ।
उनका दुई छोरीमध्ये एकजनालाई मुटुरोग लागेको छ भने अर्की क्यान्सरबाट पीडित छन् । सुनारले आर्थिक अभावका कारण दुवै छोरीको उपचार गराउन सकिरहेका छैनन् ।
मजदुरी गरेर बिहान–बेलुकाको जसोतसो छाक टार्ने उनले छोरीहरुको उपचार गराउनसक्ने अवस्था नभएको गुनासो गर्छन् ।
उमेरले ४१ वर्ष लागेका रामबहादुरले कतैबाट सहयोग रकम जुट्छ कि भनेर प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।
डाक्टरहरुले क्यान्सर लागेकी छोरीलाई भरतपुर क्यान्सर अस्पताल र मुटुरोगबाट पीडित छोरीलाई काठमाडौँको गंगालाल अस्पताल लैजान सुझाएका छन् । तर, पैसा नभएपछि बिरामी छोरीलाई हेर्दै भक्कानिनुको विकल्प उनले भेटेका छैनन् ।
उपचार गराउनु त परको कुरा आफूसँग अस्पतालसम्म पुग्ने रकम पनि नभएको उनको गुनासो छ ।
उपचार नपाएर छोरा गुमाउनुपरे पनि छोरीलाई बचाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ ।
बिरामी छोरीलाई घरमा राखेको उनको परिवारले देश–विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीबाट सहयोगको याचना गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्