
काठमाडौं, साउन ८ । इन्डोनेसियामा हुने एसियाली खेलकुद सुरु हुन तीन हप्ता बाँकी रहेको छ ।
आयोजकको तयारी र सहभागी राष्ट्रहरुको तयारी तीव्र भइरहेका बेलामा पुरुष फुटबलको ‘ड्र’ फेरि गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले निर्देशन दिएको छ ।
युएई र प्यालेस्टाइन पनि खेल्ने पक्का भएपछि एएफसीले फेरि ड्र गर्न निर्देशन दिएको हो ।
योसँगै एसियाली खेलकुदमा २६ देशले सहभागिता जनाउने पक्का भएको छ । ड्र बुधबार गरिँदैछ ।
यसअघि गरिएको ड्रअनुसार नेपालको समूहमा जापान, पाकिस्तान र भियतनाम रहेका थिए ।
नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ । नयाँ ड्र सार्वजनिक भएपछि थाइल्यान्डलगायतका राष्ट्रसँग अभ्यास खेल खेल्नेबारे छलफल भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
योपटकको एसियाली खेलकुदमा नेपालले २८ खेलमा भाग लिँदैछ ।
प्रतिक्रिया दिनुहोस्