यमनको हुथी विद्रोहीले राख्यो साउदी अरबमाथि शर्त • Image Khabar Image Khabar


यमनको हुथी विद्रोहीले राख्यो साउदी अरबमाथि शर्त


Imagekhabar
५ आश्विन २०७६, आईतवार १३:००

यमनको हुथी विद्रोहीले राख्यो साउदी अरबमाथि शर्त

यमन, असोज ५ । यमनमा संघर्षरत हुथी विद्रोहीले साउदी अरबमाथिको सबै आक्रमण रोक्न आफु तयार रहेको जनाएको छ । यसका लागि साउदी गठबन्धन सेनाले यमनमा आफुहरुमाथि जारी राखेको आक्रमण पूर्णरुपले रोक्नुपर्ने उसको शर्त छ ।

विद्रोहीको शान्ति प्रस्तावलाई संयुक्त राष्ट्रसंघे स्वागत गरेको छ । तर साउदीले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

आफ्ना दुई तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको गतिलो जवाफ दिने साउदी अरबको चेतावनी छ ।

आक्रमणमा इरानको संलग्नता रहेको दावी गर्दै साउदी अरबले यसबारे यथेष्ठ प्रमाणसहितको विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ । साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले आक्रमणमा इरानी हतियारहरु भेटिएको प्रष्ट पार्दै थप छानबिन जारी रहेको बताए ।

साउदी अरबका दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ तारिखमा ड्रोन आक्रमण भएको थियो । हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिए पनि साउदी अरब र अमेरिकले इरानमाथि आरोप लगाएका छन् ।

यता इरानका सैन्य प्रमुख हुसेन सलामीले आफ्नो देशमाथिको कुनै पनि खतरालाई जरैदेखि फाल्ने चेतावनी दिएका छन् । इरानविरुद्ध जाईलाग्नेमाथि प्रतिकार निश्चित भएको भन्दै उनले आफ्नो संयमता सधै संयमतामा सीमित नरहने चेतावनी दिए । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्