
इलाम, असोज ३ । १० वर्षे सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा संकलन गरेर इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको छ ।
संविधान दिवसको अवसर पारेर अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्वपीडितलाई संगठित गरेर १४ कथाका आवाज, फोटो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ । सशस्त्र द्वन्द्वका बेला युद्धरत दुवै पक्षबाट पाएको यातना, बिस्फोटन, गोली वा अन्य चोटका कारणले अपांगताका साथ बाँचेकाहरुको कथा फोटो र भिडियोमा समेटिएको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए ।
द्वन्द्वका क्रममा छाडिएका बेवारिसे बमबाट घाइते र अंगभंग भएकाहरुलाई राज्यबाट उचित सम्मान र सुरक्षाका लागि विशेष ध्यानाकर्षण गराउन यो अभियान सञ्चालन गरिरहेको बताइएको छ । १० वर्षे द्वन्द्वका समयमा देशभर १७ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए भने एक हजार ३५० भन्दा धेरै बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्