२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


इजरायलमा नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले परामर्श गर्ने


0
Shares

जेरुसेलम, असोज ३ । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन् ।

उनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको हो ।

राष्ट्रपति रिभ्लीनले संसदमा निर्वाचित दलहरुको बैठक आयोजना गरेका छन् । बैठकमा उनले नयाँ प्रधानमन्त्रीका लागि कस्लाई सिफारिस गर्ने भनेर दलका नेताहरुलाई सोध्ने भएका छन् । त्यसपछि मात्रै उनले नयाँ सरकार गठनका लागि सिफारिस गर्ने भएका छन् ।

निर्वाचनको अन्तिम परिणाम अहिलेसम्म घोषणा भएको छैन । तर इजरायली सञ्चार माध्यमहरुले विपक्षी नेता गान्जको सेन्ट्रीष्ट ब्ल्यु एण्ड ह्वाईटले संसदको ३३ सिटमा जित हासिल गरेको र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको जनाएका छन् ।

कुल १२० सिटका लागि भएको निर्वाचनको मतगणना अहिलेसम्म ९७ प्रतिशत भइसकेको समाचारमा जनाइएको छ । 

अहिलेसम्मको मतगणना अनुसार सवैभन्दा धेरै सिट जितेको पार्टीका नेता गान्जले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अहिलेका प्रधानमन्त्री नेतान्याहूलाई आह्वान गरेका छन् । (रासस/एएफपी)