२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने


0
Shares

चितवन, साउन ८ । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।

महानगरका प्रमुख रेणु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् ।

विश्वविद्यालयलाई भरतपुर–१८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।

प्रमुख दाहालले फाउन्डेसनका तर्फबाट छिटो जग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै मंगलबार रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताइन् ।

दाहालले भनिन्–‘फाउन्डेसनले छिटो ठाउँ दिनुपर्‍यो भनेर ताकेता गरिरहेको छ । कार्यविधि बनाएर काम अगाडि बढाइएको छ ।’

उनकाअनुसार फाउन्डेसनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गर्दै छिटो काम गर्न ताकेता गरिरहेका छन् ।

दाहालकाअनुसार झन्डै रु तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्नेछ । जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ ।

महानगरका अरु क्षेत्रमा रहेका सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्नेगरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो ।

त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० विगाहामा इन्जिनियरिङ कलेज सन्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए ।

महानगरले जग्गा दिने ठाउँमा भैंसी प्रजनन् केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।

ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताए । रासस