
शरद शर्मा (रासस)
काठमाडौं, असोज १ । विगत एक दशकदेखि भाडामा बस्दै आएको संघीय संसद अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ ।
सिंहदरबार परिसर पुतली बगैंचामा बन्ने उक्त भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद आफ्नै भवनमा बस्ने भएको हो ।
वि.सं. २०५५ असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामो समयसम्म भवनको काम सुरु हुनसकेको थिएन ।
प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि दुई वर्षभित्रमा संसद भवन बनाउने निर्णय गरेसँगै अहिलेको भवनको निर्माण सुरु गरिएको हो ।
कुल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न ‘कन्टिजेन्सी’सहित करिब रु ९ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ ।
भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन् ।
वि.सं. २०६४ देखि संसद भवन नहुँदा नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ । त्यसभन्दा अगाडि सिंहदरबारको संसद भवन भूकम्पका कारण भत्किएको छ ।
वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ ।
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तीन वर्षभित्रमा भवन बनाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उक्त भवन मुलुकको सबैभन्दा ठूलो भवनकोरुपमा रहनेछ ।
सहरी विकास र भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसदसम्बन्धी सबै कार्य एकै थलोबाट गर्ने किसिमको भवन रहने बताए ।
भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अतिविशिष्ट व्यक्तिका लागि कार्यालय भवन, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेनागृह, प्रेस/छपाइ र पार्किङ भवन रहनेछन् ।
प्रतिनिधिमा ४०० र राष्ट्रियसभामा १००
प्रतिनिधिसभाको क्षमता ४०० व्यक्ति अटाउने ठूलो सभाहल र राष्ट्रियसभाको १०० जना अटाउने ठूला सभाहल हुनेछ ।
प्रतिनिधिसभा भवनमा सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष र अतिविशिष्ट कक्ष, ३०० जना दर्शक/पत्रकार/आगन्तुक पाहुना अटाउने बालकोनी हल र २०० क्षमताको ‘मार्सल’ कोठासमेत रहनेछ ।
यसैगरी, राष्ट्रियसभाको भवनमा स्टुडियो कोठा, ‘कन्ट्रोल’ कोठा, भिडियो र रेकर्ड कोठा रहनेछ भने अध्यक्षको कार्यकक्ष, विशिष्ट कक्ष र समिति हल, २०० जना अटाउने बालकोनी हल र ३०० जना क्षमताको बैठक कक्ष तथा मर्मतकक्ष र मार्सल कोठा रहनेछ ।
कुल १७३ रोपनी ८ आना क्षेत्रफलमा निर्माण हुन लागेको भवनको निर्माणको जिम्मेवारी टुण्डी से जेभी कम्पनीले पाएको छ ।
महानिर्देशक गेलालकाअनुसार भवन परिसरमा भवन क्षेत्र २७ प्रतिशत, खुला हरियाली ४५ प्रतिशत र पार्किङ क्षेत्र २८ प्रतिशत छुट्याइएको छ ।
भवन परिसरको मूलढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तर–पश्चिम ढोका, दक्षिण–पूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशको व्यवस्था मिलाइनेछ । प्रवेशका लागि अतिआधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिनेछ ।
काठमाडौंको स्थानीय वास्तुकला झल्कनेखालको बन्ने भवन ‘इन्टरनेसनल स्टे अफ द आर्ट’कोरुपमा डिजाइन गरिएको छ ।
भवनका डिजाइन आपत्कालीन विशेष अवस्था (भूकम्प, आगलागी)लाई मध्यनजर गरी नेपालको भवन निर्माणसम्बन्धी मापदन्डअनुसार डिजाइन गरिएको छ ।
भवनमा हरियाली चौर, पानीका फोहरा, सार्वजनिक खुला चौरजस्ता रहनेछन् ।
दक्षिणतर्फका मुख्य प्रवेशद्वारको बायाँतर्फ संसदको प्रतिनिधिसभा र दायाँतर्फ राष्ट्रियसभा हुनेछ ।
संसदीय दल र समिति पाँचतले
संसदीय दल र संसदीय समितिका भवन पाँचतले र अन्य भवन भने तीनतले हुने विभागका महानिर्देशक गेलालले जानकारी दिए ।
यसैगरी, मुख्य संसद भवनको दायाँतिर तीन तलाको दुईओटा ‘ब्लक’मा संसदीय सचिवालय भवन रहनेछ ।
प्रतिनिधिसभा भवनको उत्तरतिर चार तलाको पुस्तकालय भवन र दुई तलाको चमेनागृह हुनेछन् । चमेनागृहको भुँइतला सर्वसाधारण र माथिल्लो तला सांसदको लागि छुट्याइनेछ ।
यसैगरी, राष्ट्रियसभाको भवनको उत्तरतिर चार तलाको अतिविशिष्ट कक्ष निर्माण गरिने विभागले जनाएको छ ।
संसदीय दलको कार्यालय र संसदीय समितिको भवन पाँच तलाको रहनेछ । मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा पाँच तलाको संसदीय समितिको भवन र उक्त भवनको दायाँतर्फ छापाखाना रहने विभागका महानिर्देशक गेलालले जानकारी दिए ।
मुख्य भवनको बायाँतर्फ उत्तरकुनामा पाँच तलाको संसदीय दलको कार्यालयको भवन रहनेछ ।
भवन परिसरमा ७०० गाडी पार्किङ गर्ने सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्