काठमाडौं, भदौ ३१ । इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान भइरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि एकै वर्षभित्र दोस्रोपटक आमनिर्वाचन भएको हो ।
इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन् ।
भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा छन् ।
तर, मत सर्वेक्षणहरुले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।
चुनावमा नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुवै पार्टीले बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् ।
यसअघि, गत अप्रिलमा सम्पन्न चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बने पनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो ।
साना दलको सहयोग लिएर सरकार बनाए पनि लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो ।
लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले संसद विघटन गरी नयाँ निर्वाचनको मिति तोकेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्