बाँदरबाट बाली जोगाउन बेसार खेती • Image Khabar Image Khabar


बाँदरबाट बाली जोगाउन बेसार खेती


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ०८:४३

बाँदरबाट बाली जोगाउन बेसार खेती

-सीता पाण्डेय/ईमेज

पाल्पा । बाँदरले बाली नोक्सान गरेर दुख दिएपछि पाल्पाको रामपुर नगरपालिकाको माथिल्लो क्षेत्रका कृषकहरु वैकल्पिक खेतीतर्फ लागेका छन् ।

बोटमा मात्रै होइन घरमा भित्राएको बाली पनि बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि कृषकहरु त्यसको विकल्पमा लागेका हुन् ।

नजिकै जंगल भएका कारण पाल्पाको रामपुर नगरपालिका ७ का  किसानहरु लामो समयदेखि बाँदरको उपद्रोबाट हैरान भइरहेका थिए ।

खाद्यान्न तथा फलफूल राम्ररी भित्र्याउन नदिएको कारणले उनीहरुले बाँदरले नोक्सान नगर्ने बेसार खेतीतर्फ आकर्षित भएका हुन् ।

बारीमा मात्रै नभएर घरमा राखेको अन्नबाली पनि बाँदरबाट जोगाउन मुस्किल भएकाले आफूहरु बेसारखेतीमा लागेको स्थानीयको भनाइ छ ।

बाँदरको समस्या अचाक्ली बढेपछि स्थानीयले पटकपटक वडा कार्यालयमा पुगेर सहयोग मागेका थिए ।

सोही अनुसार वडा कार्यालयले बेसार खेतीको लागि गतवर्ष ३ लाख रुपैयाँ रकम विनियोजन गरी ३५ क्वीण्टल बेसारको बीउ वितरण गरेको थियो ।

बाँदरले बेसार नखाने भएकाले यसतर्फ कृषकलाई प्रोत्साहित गरेको र बेसारको खेतीबाटै वडालाई चिनाउने तयारी थालिएको वडा सचिव गीता पौडेल लम्सालको भनाइ छ । 

वडाले कृषकहरुलाई  प्रेरित गर्न ११ रोपनीमा जग्गामा नमुना बेसार खेती समेत लगाएको छ । अहिले ५५ भन्दा बढी कृषकले यसको खेती गरेका छन् ।

आगामी वर्षदेखि बेसारको प्रशोधन तथा बजारीकरणको जिम्मा वडाले लिने ७ नम्बरका वडाध्यक्ष तीर्थप्रसाद पंगेनी बताउँछन् । 

वडाले स्थानीयलाई यस अभियानमा सक्रिय भएर लाग्न पनि आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्