महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा • Image Khabar Image Khabar


महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ०८:३४

महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा

कन्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सरकारले दरबन्दी अनुसारको डाक्टर उपलब्ध गराउन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् ।

१७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको महाकाली अस्पताल हाल २ जना डाक्टरको भरमा सञ्चालनमा रहेको छ ।

अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र छाला तथा यौनरोग विशेषज्ञ डा.शम्भुदत्त जोशी गरी २ जना मात्रै कार्यरत छन् ।

यस्तै, विकास समितिका तर्फबाट डा. धिरज जोशी र डा. मोहमद अहमद खान कार्यरत छन् ।

दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति हुन नसक्दा बिरामीलाई सेवा दिन समस्या भएको महाकाली अस्पतालका निमित्त सुपरिटेण्डेन डा. हरिकुमार श्रेष्ठले बताए ।

उनले स्थापनाकालदेखि नै सरकारले दरबन्दी अनुसार डाक्टरको पदपूर्ति नगरेको बताउँदै विशेषज्ञ डाक्टरको अभावमा गुणस्तरिय सेवा दिन नसकिएको बताए ।

यता, अस्पताल प्रशासनले भने दरबन्दीका दवै डाक्टरको सरुवा हुने समय भइसकेकाले सरकारले दरबन्दीका डाक्टर नपठाए अस्पतालको सेवा नै ठप्प हुने अवस्था आएको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार डा.श्रेष्ठको कार्यकाल पूरा हुन लागेको र डा. जोशीको समायोजनमा परेर सरुवाको पत्र आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्