२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डेंगी प्रकोपः ‘फगिङ’ मानव स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह


0
Shares

काठमाडौं, भदौ ३० । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डेंगी नियन्त्रणका लागि धुवाँउने विषादी ‘फगिङ’ मानव स्वास्थ्यका लागि घातक भएकाले प्रयोग नगर्न सुझाव दिएको छ ।

परिषद्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै डेंगी रोगबाहेक लामखुट्टेका प्रजातिको संख्या नरोक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ ।

डेंगी नियन्त्रणका लागि जैविक विधि, प्रजनन् स्थान र क्षमतालाई प्रभावित पार्ने तथा खोज र नस्ट अभियान नै प्रभावकारी हुने परिषद्ले जनाएको छ । 

डेंगी रोगबारेको चेतना र ज्ञानको अभिवृद्धि नै अहिलेको प्रमुख आवश्यकता भएको परिषद्ले औंल्याएको छ ।

१३ प्रतिशत मानिसलेमात्र डेंगी रोकथामको उचित उपाय अपनाएको पाइएको छ ।

पहाडी जिल्लाका १६ र तराईका ५३ प्रतिशत मानिसमा डेंगी रोगबारे जानकारी भएपनि रोकथामका उपायबारे पहाडी जिल्लाका मानिस बढी सचेत रहेको परिषद्ले जनाएको छ ।

कार्यक्रममा अनुसन्धान परिषद्का प्रमुख डा. अञ्जनीकुमार झाले डेंगी रोग नियन्त्रण हुन नसके यसले महामारीको रुप लिने डर रहेको बताए ।

अहिले नै भयावह हुनुपर्ने अवस्था नरहेको भन्दै डा. झाले आफ्नो घरको सरसफाइमा दिनको एक घन्टा समयमात्र दिए संक्रमण रोकथाम गर्न सकिने बताए ।

डेंगीका कारण हालसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।