अपहरणमा परेको जनमत • Image Khabar Image Khabar


अपहरणमा परेको जनमत


Imagekhabar
१८ फाल्गुन २०७७, मंगलवार १०:४४

अपहरणमा परेको जनमत

सन्जिव कार्की

जनताको स्थिर शासन, समृद्धि अनि सुशासनको चाहना चुनाव मार्फत व्यक्त भएको थियो । एकल बहुमत प्राप्त सरकार भए आकाशको तारा झार्ने आश्वासन र लोभ देखाएर नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले नेपाली जनताको विश्वास जिते र जनमत आफ्नो पोल्टामा पारे तर दुर्भाग्य आकाशको तारा झार्ने सपना देखाएको हालको नेकपाले सरकार संचालन पश्चचात रुखको डाले घाँस समेत झारिदिन सकेन यसको मतलव जनताको आधारभूत आवश्यकताको सानो अंश पनि पूरा गरिदिन सकेन ।

शिक्षा, स्वास्थ्य, रोजगार, ब्यापर यत्रतत्र जनताले देख्ने, पाउने अनुभव गर्ने गरि कुनै काम भएन । जति काम भयो र गरियो भनेर प्रचार गरियो त्यो केवल बिकासको नियमित प्रक्रियाका परिणामहरु हुन । बिकासको कोसे ढुङ्गा हुने र नयाँ फडको मार्ने गरि कुनै उल्लेख उपलब्धि हाँसिल गरेको रेकर्ड छैन । करिब दुई तिहाईको एकल पार्टीलाई बहुमत र दुई तिहाई कै समर्थनमा सरकार हाँक्न गएका प्रधानमन्त्री ओलीलाई प्रतिकुलताका कुनै तरबार थिएनन ? राजाको हस्तक्षेपको कुनै भय र गुन्जायस थिएन, विपक्षी पार्टीको कहिल्यै र खासै व्यबधान भएन बरु प्रमुख विपक्षी पार्टी नेपाली काङ्ग्रेसका सभापती सरकारको स्लिपिङ पाटनरको रूपमा परिचित र आलिचित छन् । संविधान बनाउनु पर्ने जस्तो जटिल र असाध्यै कष्टपूर्ण काम गर्नुपर्ने अवस्था पनि थिएन । यति अनुकुल र भव्य अनुकुल समय सरकारको लागि संभवत इतिहासमा पनि कहिल्यै थिएन र भोलि पनि यो सुवर्ण अवसर कुनै शाशकले पाउलान् नपाउलान ? तर प्रधानमन्त्री खडग ओलीले काम गर्नु भन्दा मुख चलाएर नै समय व्यतीत गरे ।

दशौ महिना सम्म प्रधानमन्त्रीको कार्यलय नटेक्ने प्रधानमन्त्रीले जति गफ दिनु हुन्छ त्यो गफको सानो अंश मात्रै काम भै दिएको भए आज ओलीको ‘पपुलारिटी’को ग्राफ यसरी ओरालो झर्ने थिएन । राजनीति कदम भन्दै संसद विघटन गरिएको अबैधानिक कार्यलाई सर्वोच्च अदालतले उल्टाइ दिए पछि पनि पुजीवादी भनिने पार्टीले समेत देखाउने सामान्य नैतिकता देखाउन सकेनन । उल्टो आज पनि मै ठिक, मेरो कदम ठिक भन्ने कुरा गरेर दुनियाँ हंसाएका छन । नैतिकता नामक कुन चरो हो त्यो प्रधानमन्त्रीमा रहेन , भएन । देशको मुली निर्लज्ज भएपछि समाज व्यवस्थामा नैतिकताको मानक र इमान पातलो बन्न जान्छ । पार्टी अभ्यासमा नैतिकता एकादेशको कथा बन्छ ।

स्वाभिमान र स्वाधिन अर्थ तन्त्रको नारा दिने नेकपाले यो बिच देश आत्मनिर्भर बन्ने एउटा कार्यक्रम घोषणा गर्न र कार्यन्वयन गर्न सकेन । भारत निर्भरता बाँडिएर चीन निर्भरता र अन्य मुलुकमा पुग्यो तर कुनै पनि बस्तुमा नेपाल यो तीन वर्ष भित्र आत्मनिर्भर बन्न सकेन । यो भन्दा लाजमर्दो स्थिति के हुन्छ ? यो तीन वर्ष उसै खेर गएको जिम्मा माधव-प्रचण्डको भागमा पनि उत्तिकै जान्छ जति प्रधानमन्त्री ओलीको ? सरकारले काम गर्न नसकेको अपजसको भारी माधव प्रचण्डले बोकेर यसको उचित जबाफ दिनुपर्नेछ । कम्युनिस्ट शासन जसको समयमा देशमा अमानवीय जातीय विभेद र ज्यान जाने घटना सामुहिक कत्लेआम बाट दलित पीडित छ्न । मानवीय कलंकको यो असभ्य संस्स्कार र सामाजिक धार्मिक अन्ध विश्वासको सत्ता भत्काउन सरकारले सिन्को भाँचेको छैन । जातीय बिभेदको कारण भएको रुकुमका ६ युवाहरुको निर्मम हत्याको संरक्षक सरकार र नेकपा बन्यो जसले गर्दा देशका ६० लाख दलितको हृदयमा चोट पुगेको छ ।

सुसंस्कृत समाज व्यवस्था सिर्जना गर्नुपर्ने सरकार आज पनि जातीय विभेद र जसको कारण ज्यान जानुपर्ने घटनालाई स्वभाविक घटनाको रूपमा चित्रण गर्न पुग्छ , कम्युनिस्ट नेताकार्यकर्ता नै हत्याको आरोपी संरक्षणमा जान्छन् भने अब कम्युनिस्ट पार्टीको समता मर्यादा र आत्म सम्मानको कुरा फगत नारा मात्रै हो भन्ने कुरा प्रमाणित भएन र ? नेपाल कम्युनिस्ट पार्टी नेकपा इतिहासको अर्को कठिन मोडमा आइपुगेको छ यो कठिन घडीको शुत्राधार अरु कोही नभएर स्वयं नेकपाका नेताहरूको दृष्टिहिनता हो । क्षमता परिचालनको अभाव हो । देशलाई भन्दा स्वार्थलाई दिएको प्राथमिकता हो । देश बदल्ने र इतिहास रच्ने अवसरबाट ओली र नेकपा चुक्यो । अवसर मात्रै चुकाएनन कलंकित पात्र बन्न उद्धत भए नेकपाका नेताहरु । विरलै पाइने अवसरलाई ल्याकतको पाइनमा घोटेर उजिल्याउने मौका गुमाएर आफूलाई निकम्मा सावित गर्दै जनमतको अपमान गर्यो नेकपाले जुन इतिहासको दुर्दान्त क्षण सावित बनायो भावी पुस्ताले यो असक्षम नेतृत्वलाई धिक्कार्ने छ । दुत्कार्ने छ ।

बिकास निर्माण र सुशासनलाई गति दिनु पर्ने व्यवस्थित गरेर गणतन्त्रलाई लैजानुको बद्ला गणतन्त्र नै बदनाम गर्ने कार्य गरेर वर्तमानलाई इतिहासको रछ्यानमा फाले । कतिपय प्रणालीगत कमजोरी सुधार्नु पर्ने , कतिपय अपनाइएको प्रणालीमा यसको गुण र दोषको आधारमा हेरफेर ,रिथिंंक, रिभिजिट गर्न जनमत निर्माण गर्नुपर्ने ,पार्टीहरुलाई एक ढिक्का पारेर ‘बोल्ड डिसिजन’ गर्नु पर्ने गहन र गुरुत्तर दायित्व जनताले नेकपाको काँधमा हालिदिएका थिए तर त्यो काँध यति कमजोर र गतिहिन रहेछ कि जिम्मेवारीको भारी बहन गर्न नसकेर असामयिक मृत्यु रोज्न बाध्य भयो ।

संसद पुनर्स्थापना भए पनि नेकपाको बचे खुचेको सैद्धान्तिक अवसान फेरि अर्को पटक पनि भयो भन्दा अतियुक्ती नहोला । इतिहास रच्ने अवसरबाट बिचलित बनेर पार्टी भत्काउने जनाधार भाग लगाउने जुन निकृस्ट कार्य नेकपाले गर्यो इतिहासले यसको मुल्यांकन गर्ला । जनताको चोखो विश्वासमा घात गरेको माफी पाउन नेकपालाई थोरै समयको लागानी, सानो तपस्या र विश्रृङखलित पहिचानबाट सम्भव छैन । यद्यपि राजनीति हो राजनीतिमा पासा पल्टिन पनि सक्छ तर चुनौतीको पहाड सानो छैन र शुद्धीकरणको यात्रा आज र अहिले बाट नै शुरु भएर बैधानिक पार्टी निर्माणको जग बसाउनु पर्दछ अन्यथा प्रजा परिसद बन्ने नियति कसैगरी रोकिन्न कसैले रोक्न सक्दैन ।

नेकपा बाहेक अरु पार्टी र शक्तिले सत्ताको चाबी लिन पाउनु नेतृत्व गर्न पाउनु पनि सबै मिलेर जनमतको हुर्मत लिनु हो । प्रमुख प्रतिपक्षी काङ्ग्रेस सत्ता नेतृत्व गर्न बैधानिकता हरण भएको पार्टी हो । कम्तीमा पाँच वर्ष काङ्ग्रेसलाई सत्तामा जाने नैतिकता रहन्न भने अरु साना पार्टीको सत्ता नेतृत्व कल्पना बाहिरको कुरा हो तर लज्जा बिहिन राजनीतिमा हुने नहुने सबै सम्भव छ । प्राबिधिक कुरा र नैतिकताको सबाल फरक पक्ष हो । प्राबिधिक पक्ष हेरेर नैतिकता बिर्सने बानी परेकोले समाजको लय भंग भएको छ गति ओरालोतिर लागेको छ । समाज बेसरम भएको परिणाम पनि राजनीति दुशित र प्रदुषणमा परेको कारणले सम्भव भएको हो । कहिले सफा बग्ला नेपाली राजनीतिको नदि ? 

[email protected]

प्रतिक्रिया दिनुहोस्