
काठमाडौं, फागुन १२ । सरकारले एकैदिन नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या बुधबार ६१९ देखाएको छ ।
नेपाली सेनाले यसअघि नै थप एक हजार भन्दा बढी कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्रै ६ सय १८ जना थपेको हो ।
पछिल्लो २४ घण्टामा भने एक जनाको मात्र मृत्यु भएको छ ।
सेनासँगको तथ्याङ्कसँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६ सय १८ जना मृतक थपेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको बताउनु भयो ।
उहाँले मृतक मिलान गरेसँगै सक्रिय संक्रमितको संख्या पनि घटाइएको बताउनुभयो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय ८४ पुगेको छ ।
त्यसैगरी सक्रिय संक्रमित एकैपटक ६ सय १८ जना घटाएर ९ सय ३७ पुर्याइएको छ ।
डा. गौतमले पुसदेखि भने मृतकको संख्यामा समस्या नभएको बताउनुभयो ।
यता बुधबार ३ हजार ६ सय ९२ पीसीआर परीक्षणबाट ९४ संक्रमित थपिँदा ७१ जनामात्र संक्रमणमुक्त भएका छन् ।
योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्