२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अस्पतालद्वारा ज्यूँदै शिशुलाई मृत घोषित


0
Shares

बाँके, भदौ २७ । सुत्केरी व्यथा लागेपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो ।

जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई गरायो ।

अस्पतालको प्रसूतिकक्षमा कार्यरत् कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो ।

शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले ।

छेडागाड नगरपालिका–९, जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगन्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो ।

‘प्रसूतिकक्षका कर्मचारीले तपाइँको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए । दुखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं’–घटनाको विवरण सुनाउँदै मिलनले भने–‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो । यो अस्पतालको चरम लापरबाही हो । कारबाही गरिनुपर्छ ।’

उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग रु दुई हजार रकमसमेत माग गरेको बताए ।

‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ । त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ । यो कहाँको कानुन हो ? कर्मचारीले कपडा धोएको रु ५०० र बच्चालाई गाडेको रु एक हजार ५०० गरी रु दुई हजार मागेपछि हामी आफैं गाड्छौं भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो’–मिलनले भने ।

शिशुलाई अहिले ‘आइसीयु’मा भर्ना गरिएको छ । सो अस्पतालको ‘रेकर्ड’अनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ ।

गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगन्ज आएकी थिइन् ।

नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत् कर्मचारीको चरम लापरबाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारबाहीको माग गरेका छन् ।

मिलनले भने–‘यसअघिको हाम्रो बच्चा खेर गयो । सन्तानको नाममा पहिलो शिशुकारुपमा छोरी पाएका थियौं । अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।’ रासस