Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


संवैधानिक आयोगहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पर्क कार्यालय बनाउने


0
Shares

काठमाडौं, फागुन १० । विभिन्न संवैधानिक आयोगको संयुक्त बैठकले संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हुनुपर्ने निर्णय गरेको छ ।

सोमबार राष्ट्रिय मुस्लिम आयोगको पहलमा मानव अधिकार आयोग, महिला आयोग, आदिबासी जनजाति आयोग, दलित आयोग तथा समावेशी आयोग लगायतका विभिन्न संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीहरुसँग परिचयात्मक एवं स्वागत कार्यक्रममा हालसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्पर्क मन्त्रालयको रुपमा रहेकोमा सोझै प्रधानमन्त्री कार्यालयमा राख्ने निर्णय भएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।

त्यसैगरी आयोगहरुमा विशिष्ट श्रेणीको दरबन्दी कायम गर्नुपर्ने तथा दरबन्दी बढाउनुपर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोगको कार्यालय भवन नभएको तथा स्रोत साधनको कमी भएको भन्दै एकै ठाउँमा सबै आयोगहरु राख्ने बारे गृहकार्य गर्नेपनि उहाँको भनाई छ ।

आगामी जनगणनामा सम्पूर्ण आयोगहरुले आफ्नो समुदायमा बढीभन्दा बढी प्रचार र चेतना फैलाउने निर्णय भएको पनि अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने विषयमा राम्रोसँग छानविन गरी बास्तविक भूमिहिनलाई नै उपलब्ध गराउन आयोगहरुले सहयोग गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।