Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


भरतपुरको एक रेष्टुरेन्टमा खानामा शंखेकिरा भेटिएपछि…


780
Shares

गीताञ्जली अधिकारी, चितवन । चितवनको भरतपुरस्थित बैष्णब रेष्टुरेन्टमा परोसिएको सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ।

अनुगमनका क्रममा रेष्टुरेन्टमा गुणस्तरहीन खाने तेल प्रयोग भइरहेको समेत भेटिएपछि प्रशासनले खाद्य स्वच्छतामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै तत्काल सिल गर्ने निर्णय गरेको हो।

घटनाअनुसार रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले आफूलाई परोसिएको सागभित्र शंखेकिरा फेला पारेपछि तत्काल जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए। उपभोक्ताको गुनासो प्राप्त हुनासाथ सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माको नेतृत्वमा प्रशासन, सम्बन्धित निकाय तथा सरोकारवालाको टोली रेष्टुरेन्टमा पुगेर अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, पकाउने वातावरण तथा प्रयोग भइरहेका खाने तेलको अवस्था परीक्षण गरिएको थियो। निरीक्षणका क्रममा प्रयोग भइरहेको तेलको गुणस्तरसमेत मापदण्डअनुसार नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका कमजोरी देखिएकाले रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको हो।

उहाँले आवश्यक सुधारका लागि व्यवसायीलाई निर्देशन दिइएको बताउँदै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सबै मापदण्ड पूरा गरेपछि, सुधारप्रति लिखित प्रतिबद्धता जनाएपछि र तोकिएको जरिवाना बुझाएपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने स्पष्ट पार्नुभयो।

प्रशासनले खाद्य स्वच्छता र उपभोक्ता सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने नीति लिएको जनाएको छ। होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ, सुरक्षित भण्डारण, म्याद नाघेका सामग्रीको प्रयोग नगर्न तथा गुणस्तरीय खाने तेल प्रयोग गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।

पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छतासम्बन्धी गुनासा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायमा लापरबाही गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।

उपभोक्ताले पनि आफूले उपभोग गर्ने खाद्य वस्तुमा कुनै प्रकारको गुणस्तरहीनता, सरसफाइको कमी वा स्वास्थ्यमा असर पर्ने अवस्था देखिए सम्बन्धित निकायमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। यस्ता सूचनाले उपभोक्ताको अधिकार संरक्षण हुनुका साथै खाद्य व्यवसायलाई समेत जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास प्रशासनको छ।