Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ– रघुजी पन्त


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा(संसद्) विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ ।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनसर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताउनुभयो ।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभइ नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताउनुभयो । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पन्तको भनाइ छ ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालिमा प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।

संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरू समेत खोसिएको अनुभुति भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।

प्रदर्शनकारीहरूले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौं, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधिसभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए ।