काठमाडौं । भिजिट भिसाबाट रोजगारीका लागि खाडी देश जान लागेका २६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा थुनिएका छन् । ३६ जना श्रीलंकामा पक्राउ परेकोमा १० जनाको भने उद्धार भएको छ ।
दलालको पछि लागेर उनीहरु भारत हुँदै श्रीलंकाबाट कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमान जान खोजेका थिए । मानव तस्करी गिरोहमा आबद्ध श्रीलंकन नागरिकले नै उनीहरुलाई बन्धक बनाएर आफ्नै घरमा राखेका थिए ।
उनीहरुको १२ दिनको भिसा सकिएको थाहा पाएपछि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । अध्यागमनसँगसम्बन्धी कसुर र झगडा गरेको अभियोगमा त्यहाँको प्रहरीले उनीहरुलाई थुनामा राखेको हो ।
त्यसरी थुनामा परेकामध्ये १० जनालाई हालै उद्धार गरिएको छ । जेलबाट छुटेकालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धर गरेको हो । अन्यको हकमा मुद्दा टुंगो नलागी नेपाल ल्याउन सम्भव भएन, महिला मन्त्रालयका उपसचिव गोमा ढकाल पाडेल भन्छिन, हामीले त्यहाँको नेपाली दुतावाससँग समन्वय गरिरहेका छौं ।
३६ जनामध्ये ३० जना एकपटक तथा अन्य ६ जना पछि गएका थिए । नेपाल र भारतबाट भिजिट भिसामा खाडी देश जान कडाइ भएकाले मानव तस्कर समूहले उनीहरुलाई श्रीलंका हुँदै कुवेत लैजान खोजेको थियो ।
नेपाल फर्किएकामध्ये तीन जनाले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिन मानेका छैनन् । फर्किकालाई माइती नेपाल र शक्ति समूहले सहयोग गरिरहेको छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्