प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)
काठमाडौं, भदौ २३ । ‘एसिड’ आक्रमणमा परेकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
गएको शुक्रबार बिहान ६ बजे विद्यालय जानेक्रममा एसिड आक्रमणमा परेकी मुस्कानको स्वास्थ्य अवस्थामा केही सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
मुस्कान खातुनको स्वास्थ्यमा सुधार भइरहे पनि उनकी आमालाई भने छोरी पूर्णरुपमा निको हुन्छे कि हुन्न भन्ने चिन्ताले सताएको छ ।
कीर्तिपुर अस्पतालमा छोरीको हेरचाहका लागि बसेकी आमा सहानाज खातुन छोरीले ‘ममी मेरो अनुहार पहिलेकोजस्तो हुन्छ कि हुँदैन ?’ भनेर सोध्दा आफूलाई सम्हाल्न नै नसकेको बताउँछिन् ।
१४ वर्षको उमेरमा विवाह गरेकी सहानाजका तीन छोरी र दुई छोरा छन् । एसिड आक्रमणमा परेकी माइली छोरी मुस्कान पहिलेको अवस्थामा आउन सक्छे कि सक्दिन भन्ने चिन्तामा परेकी सहानाजले एसिड प्रहार गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेकी छन् ।
छोरीको दर्दनाक अवस्थाको पीडा उनका बुवा रसुल अन्सारीको आँखामा पनि उत्तिकै देखिन्छ ।
धेरै पढेर आफूहरुलाई सुख दिन्छु भनेकी छोरीको यो अवस्था हुँदा रसुलका आँखा ओभाएका छैनन् ।
त्यसमाथि छोरी मुस्कानले ‘बाबा मैले के गल्ती गरेकी थिएँ र यस्तो भयो ?’ भन्दै प्रश्न गर्दा आफूलाई झन् पीडा हुने गरेको रसुल बताउँछन् ।
घरनजिकैका नसाद अलि र माजी आलमले मुस्कानलाई एसिड प्रहार गरेका थिए । उनीहरुलाई हाल प्रहरीले पक्राउ गरेको छ ।
उता, एसिडका कारण शरीरको १० प्रतिशत भाग जलेको मुस्कानको आइतबार शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्