खाद्य कम्पनीद्वारा २४ हजार टन धान खरिद • Image Khabar Image Khabar


खाद्य कम्पनीद्वारा २४ हजार टन धान खरिद


Imagekhabar
५ फाल्गुन २०७७, बुधबार १२:१६

खाद्य कम्पनीद्वारा २४ हजार टन धान खरिद

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २४ हजार टन धान खरिद गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको जनाएको छ ।

सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले समर्थन मूल्यअनुसार धान खरिद गरेको जानकारी दिएको छ ।

किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्छ । यो वर्ष ६० हजार टन धान खरिद गर्ने योजनाअनुसार विभिन्न जिल्लाबाट धान खरिदको गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

व्यापारीले किसानबाट सस्तो मूल्यमा धान खरिद गरी ठग्न थालेपछि सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । अधिकांश किसानले व्यापारीलाई सस्तोमा धान बिक्री गरिसकेपछि कम्पनीले धान किन्न थालेको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले खरिद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङलगायत खर्च व्यवस्थापनका लागि प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कम्पनीले चामलसँगै, सिमी र जुम्लाको मार्सी चामलसमेत बिक्री सुरु गरेको छ ।

प्रतिकेजी २ सय २५ रुपैयाँमा मार्सी चामल बिक्री गरेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा २७० क्विन्टल चामल ल्याएर बिक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ । मार्सी चामल प्रतिग्राहकको आकर्षण बढ्दै गएकाले पनि थप चामल ल्याएर बिक्री गर्ने तयारी गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्