
कन्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा डेंगीको परीक्षण गर्ने किटको अभाव देखिएको छ । स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो ।
ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगी परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगीका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ ।
अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपनि किटको अभावमा डेंगीको परीक्षण गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए । अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन् ।
जसमध्ये ७० प्रतिशत बढी ज्वरोका बिरामी छन् । ज्वरो आएका बिरामीको रगत किटबाट परीक्षण गरेपछि मात्रै डेंगी लागे नलागेको पहिचान हुने बताउँदै पहिलो चरणमै लक्षणबाट पहिचान गर्न नसकिने अवस्थीले बताए ।
उनले भारतसँग सीमा जोडिएको र दैनिक आवातजावत भइरहने भएकाले कञ्चनपुरमा पनि डेंगीको जोखिम रहेको बताए ।
सामान्यतया ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजारभन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगी हुने सम्भावना रहने स्वास्थ्यकर्मीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्