-प्रकाश मैनाली/ईमेज
सर्लाही । सर्लाही मलंगवाका मिटरव्याजी रामकृष्ण साह परदेशी पक्राउ परेपछि पीडित स्थानीय खुसी भएका छन् ।
नक्कली तमसुक बनाएर दुख दिईरहेका साह पक्राउ परेपछि न्याय पाउनेमा स्थानीय आशावादी बनेका हुन् ।
चर्को ब्याजमा गाउँलेलाई ऋण उपलब्ध गराउँदै आएका सर्लाही मलंगवाका रामकृष्ण साह परदेशीले ठगीको धन्दा चलाउन थालेपछि गाउँ नै आतंकित बनेको थियो ।
ऋण तिरेर चुक्ता गर्दासमेत नक्कली तमसुक बनाई पाच गुणासम्म ऋण देखाउन थालेपछि स्थानीय समस्यामा परेका हुन् ।
ऋण नतिरेको भन्दै मुद्दा हालेर दुःख दिँदै आएका परदेशी नै प्रहरी फन्दामा परेपछि पीडितले खुसी व्यक्त गरेका छन् ।
एक लाख ऋण दिएर चार लाखको तमसुक बनाउने गरेको, ऋण चुक्ता गर्दा पनि तमसुक नदिई अदालतमा मुद्दा चलाएर दुख दिएको पीडित पक्षको आरोप छ ।
अप्ठ्यारो परेको बेला ऋण तुरुन्त दिए पनि शाहले तरिका भने अप्ठ्यारो अपनाउने गरेको स्थानीयको भनाइ छ ।
थोरै पैसालाई धेरै उल्लेख गरेर तमसुक बनाउने गरेका साहले महिला गए मात्रै ऋण दिने गर्थे ।
पैसा लिन जाँदा उनलाई अनिवार्य रुपमा कोसेली लिएर जानुपथ्र्यो । उनले एक सय २० प्रतिशतसम्म व्याज असुलेको पीडितको गुनासो छ ।
व्याज मात्रै चार करोड ४२ लाख ८२ हजार रुपैयाँ लिन बाँकी रहेको दाबीसहित उनले मुद्दा दर्ता गराएका थिए ।
यसबीचमा कतिपयले सबै घरजग्गा बेचेर ऋण तिरेका छन् भने कयौंको घरजग्गा लिलामी भएको छ ।
ऋण तिर्न नसकेका कतिपयले जेल भुक्तान गरिसकेका छन् कोही जेलमै छन् ।
परदेशीले ऋणमा जालसाजी गरेर फसाएका गरिवविरुद्ध २०७० देखि गत जेठ मसान्तसम्म अदातलमा ७५ मुद्दा हालेका थिए । जसमध्ये २ मुद्दा फैसला हुन बाँकी छन् ।
यता, साहको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिएको छ ।
केही दिन अघि सर्लाहीका परदेशी पीडितहरु न्यायको माग गर्दै राजधानी नै आएका थिए ।
उनीहरुले बिभिन्न राजनीतिक दलका प्रतिनिधिलाई भेटेर न्याय दिलाउन माग गरेका थिए ।
ऋणीहरूको व्यापक गुनासो र सर्लाहीको लालबन्दी ४ की रुक्मिणी चौधरीले साहविरुद्ध मुद्दा दायर गरेपछि उनलाई सदरमुकाम मलङ्गवाबाट गत आइतबार पक्राउ गरिएकोे हो ।
परदेशीले अनपढ तथा गरिवलाई ऋण लगानी गर्ने र मिटर ब्याज लिने गरेको, ऋण दिएको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने, आफूले भने अनुसार नगर्दा लेनदेनको मुद्दा लगाउने गरेको जस्ता आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्