काठमाडौं । सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ । ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ ।
त्यसको तयारीस्वरुप ओली समूहले बुधबार मोटरसाइकल र्याली आयोजना गरेको थियो । नेकपाकै नेपाल-दाहाल समूहले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको छ । आमहड्ताल सफल गर्दै दाहाल-नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो ।
यसरी नेकपाको दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल-दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो ।
त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वागमती प्रदेश कमिटिको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो । प्रतिनिधिसभ विघटनविरुद्ध नेपाल-दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिको सभा र प्रदर्शनमा लागेको हो ।
२०७५ जेठ ९ गते दुई पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानुनी रुपमा एक भए पनि राजनीतिक रुपमा विभाजित छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो ।
विभाजनपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूह सडकमा पुगेको छ । ओली समूहले आमसभा आयोजना गरेको अघिल्लो दिन दाहाल-नेपाल समूहले आमहड्ताल आव्हान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ । नागरिक










प्रतिक्रिया दिनुहोस्