-दीपक श्रेष्ठ र उत्तम माननन्धर(ईमेज)
काठमाडौं । मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका बहालवाल नायव निरीक्षक योगेन्द्रराज थपलिया र पूर्वहवल्दार थमनसिंह गुरुङ धरौटी बुझाइ रिहा भएका छन् भने बाँकी दुई जना धरौटी बुझान नसकेपछि जेल चलान भएका छन् ।
तस्करीको समस्या गम्भीर बन्दै गएको बेला मानव तस्करीको आरोपमा थपलिया, पूर्व प्रहरी हवल्दारलगायत ४ जनालाई साउनमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले योगेन्द्रराजलाई १ लाख ७५ हजार, पूर्व प्रहरी हवल्दार थमन सिह गुरुङ्गलाई १ लाख ५० हजार, ट्याक्सी चालकहरु रमेश कार्की र नारायण बहादुर पराजुलीलाई जनही १ लाख १५ हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।
यि मध्ये कार्की र पराजुलीले धरौटी रकम बुझाउन नसकेपछि जेल चलान गरिएको छ । थपलिया र गुरुङ भने धरौटीमा रिहा भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मानव तस्करीको आरोपमा नेपाल प्रहरीका नायव निरीक्षक योगेन्द्रराज,पूर्व प्रहरी हवल्दार थमनसिंह सहित ४ जनालाइ पक्राउ गरेको थियो ।
उक्त समुहले गत श्रावण ४ गते काभ्रे घर भई मनमैजुस्थित बाग्लुङ्ग खाजा घरमा काम गर्दै आएका १८ वर्षिय विष्णु जिसीलाई ट्याक्सी चालक रमेश कार्की र नारायण पराजुलीले भारतको दिल्लीमा राम्रो काम पनि लगाइदिने र एउटा किड्नी बेचेपछि धेरै पैसा आउने प्रपञ्च सुनाएका थिए ।
र त्यो पैसाले मोटरसाइकल किनिदिने भन्दै प्रलोभनमा पारेर किड्नी बेच्ने उद्देश्यले गत श्रावण ४ गते बिष्णुलाई लगेका थिए । उनीहरुले स्वास्थ्य परीक्षणपछि विष्णुलाई ६ गते भारतको दिल्ली पुर्याएका थिए ।
पीडित विष्णुका दाजु अर्जुन जिसीले आफ्नो भाइ हराएको थाहा पाए पछि प्रहरी समक्ष सहयोग लिन महाराजगञ्ज प्रहरी बृत्त पुगेका थिए ।
प्रहरीको सहयोगमा गत श्रावण ११ गते बेलुका गोगबुं क्षेत्रबाट थपलिया सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मिर्गौैला निकाल्नका लागि दिल्ली पुर्याउने काम गर्दै आएका पूर्व प्रहरी हवल्दार थमनसिंह पिडित विष्णुलाई काठमाडौ ल्याए पछि पक्राउ परेका थिए ।
बहालवाला प्रहरी अधिकृत नै मिर्गौला तस्करीमा संलग्न रहेको गिरोहनै पक्राउ पर्दा पनि प्रहरीले यो घटनालाई सार्वजनिक गर्न चाहेको थिएन भने मुद्दा पनि गुपचुप रुपमा अदालतमा पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्