काठमाडौं, भदौ १६ । ग्रान्ड बहामसको क्यारेबियन टापुमा आएको शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको छ ।
प्रतिघन्टा २८५ किलोमिटरको वेगमा आएको ‘डोरिअन’ नाम दिइएको आँधी विस्तारै पूर्वी क्षेत्रतर्फ बढेको छ ।
‘क्याटगरी ५’ को अवस्थामा रहेको डोरिअन फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमबार अबेर प्रवेश गर्ने अनुमान गरिएको छ ।
आँधी प्रभावित अमेरिकाका चारओटा राज्यहरु फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय ‘एनएचसी’काअनुसार आधुनिक तथ्यांक राख्न थालिएयताकै डोरिअन अतिखतरनाक आँधी हो ।
ग्रान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ ।
आँधी घातक हुनसक्ने र सात मिटर उचाइसम्म पुग्नसक्ने भन्दै अधिकारीहरूले सचेत गराएका हुन् ।
टापुका केही विमानस्थल बन्द गराइएको छ ।
बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्रान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न र सबै पर्यटकलाई त्यहाँबाट बाहिर जान आदेश दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्