काठमाडौं, भदौ १४ । भारतमा आसाम राज्यका १९ लाखभन्दा बढी मानिसको नाम समावेश नगरी राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूची शनिबार सार्वजनिक गरिएको छ ।
एनआरसीको सूचीमा सन् १९७१ को मार्च २४ भन्दाअघि आसाम आएका प्रमाणित मानिसकोमात्र नाम छ ।
मार्च २५ मा बंगलादेशले आफू पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
एनआरसीमा नाम नभएकाहरूले १२० दिनभित्र अपील गर्न सक्नेछन् । तर, त्यसपछि के कारबाही हुन्छ ? भन्ने स्पस्ट छैन ।
तर, तत्कालका लागि देश निकालाको सम्भावना भने नरहेको बताइन्छ ।
यो प्रक्रियाले आसामका अल्पसंख्यक जातीय समुदायलाई निशानामा पारिएको आरोप लागेको छ ।
एनआरसीले गत वर्ष प्रकाशित गरेको मस्यौदा सूचीमा ४० लाख मानिसको नाम राखिएको थिएन ।
अवैध बंगलादेशी आप्रवासी छुट्याउन यो प्रक्रिया आवश्यक भएको भारतको तर्क छ ।
यसअघि नै विदेशीको आशंकामा दशौं हजारलाई पक्रेर आसामको जेलमा बनाइएका अस्थायी शिविरमा राखिएको थियो ।
राज्यमा बसोबास गर्नेहरूलाई आफ्नो वंश र बसोबासको प्रमाण प्रस्तुत गर्न भनिएको थियो । जसले प्रमाणित गर्न सकेनन्, तिनलाई अवैध विदेशी ठानियो ।
आसाम भारतको सबैभन्दा धेरै विविधतायुक्त राज्यमध्ये पर्छ । बंगाली र आसामी भाषी हिन्दुलगायतका जातजाति यहाँ बस्छन् ।
यस राज्यमा बंगलादेशबाट आएका अवैध आप्रवासन चिन्ताको विषय बन्ने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्