कञ्चनपुर, भदौ १३ । कञ्चनपुरमा बजार अनुगमन तीव्र तुल्याइएको छ । प्रहरीले अनुगमनका क्रममा शुक्लाफाँटा नगररपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरासहित अखाद्य तेलसमेत बरामद गरेको छ ।
शुक्लाफाँटा नगरपालिका र ईलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले अनुगमनका क्रममा ५ सय लिटर अवैध घरेलु मदिरा र १५१ लिटर अखाद्य तेल बरामद गरेको हो । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ६, १० लगायतका स्थानमा अनुगमनका क्रममा ५ सय लिटर अवैध घरेलु मदिरा र १५१ लिटर अखाद्य तेल बरामद गरिएको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।
बजार अनुगमनका क्रममा अधिकांश पसलहरुमा मिति नाघेका खाद्य सामाग्री भेटिएको बताउँदै साउदले नेपालमा प्रतिबन्धित भारतीय तेलसमेत भेटिएको बताए ।
अनुगमनका क्रममा भेटिएका भन्सार छलि गरि भित्रिएका सामानलाई भन्सार कार्यालय पठाइने जनाइएको छ । प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा र प्रतिबन्धित भारतीय तेललाई नष्ट गरिएको छ ।
चाडपर्व नजिकिएसँगै स्थानीय सरकार र प्रहरीले अवैध मदिरा नियन्त्रण तथा बजार अनुगमनलाई तिव्रता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्