१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चीनले २०२० मा सबैभन्दा बढी १६३ अर्ब वैदेशिक लगानी भित्र्यायो


0
Shares

काठमाडौं । चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ । संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी आएको हो ।

सन् २०१९ मा अमेरिकाले २५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १४० अर्ब डलरमात्र आएको थियो । गत वर्ष भने अमेरिकामा १३४ अर्ब डलर लगानी भएको छ । चिनियाँ अर्थतन्त्रले गत वर्ष २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन संसारभरि कोरोना महामारी फैलिएका बेला सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि गर्ने ठूला अर्थतन्त्रमध्ये एकमात्र राष्ट्र बनेको छ । अमेरिकासँगको व्यापार युद्ध जारी रहेका बेला कोरोना महामारीको सबैभन्दा बढी मार खेपेपनि चीनले अर्थतन्त्रमा आश्चर्यजनक सुधार गरेको हो ।

पूर्वी एसियाली मुलुकमा सन् २०२० को एक तिहाइ वैदेशिक लगानी गएको छ भने विकसित देशमा अघिल्लो वर्षभन्दा ६९ प्रतिशतले घटेको छ । एजेन्सी