
काठमाडौं, साउन ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति पुनः परिभाषित गर्नुपर्ने बताएका छन् ।
एसोसिएसन्स् अफ फर्मर नेपाली एम्बासडरले आइतबार राजधानीमा गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले लामो राजनीतिक संक्रमण अन्त्य भइ मुलुक आर्थिक विकास र समृद्धितर्फ उन्मुख भइरहेका बेला परराष्ट्र नीति पनि समयानुकूल हुनुपर्नेमा जोड दिए ।
उनले नेपालको विदेश नीति राष्ट्रिय हितमा केन्द्रित रहने बताउँदै पारस्परिक लाभ, समानता र एकर्काको संवेदनशीलताप्रति लक्षित रहने बताए ।
विचारलेमात्र कूटनीतिक सम्बन्धमा सुधार नआउने भन्दै मन्त्री ज्ञवालीले नेपालले अवलम्बन गर्ने परराष्ट्र नीतिबारे राष्ट्रिय बहस आवश्यक रहेको बताए ।
मन्त्री ज्ञवालीले पछिल्लो समय अमेरिका र युरोपेली राष्ट्रको दादागिरी बढ्दै गएकाले राािष्ट्रय हितको संरक्षण र प्रवद्र्धनमा चुनौती थपिँदै गएको बताए ।
उनले व्यापार घाटा न्यूनीकरण गर्ने र श्रमिक गन्तव्य भएका राष्ट्रहरुमा श्रमिक हितमा काम गर्ने सरकारको लक्ष्य रहेको बताए ।
नेपालले व्यवस्थित र कसैसँग पनि शत्रुता नगर्ने नीति अवलम्बन गर्दै जाने उनले बताए ।
कार्यक्रममा पूर्वराजदूत र परराष्ट्रविद्हरुले नेपाल एक्लैले समृद्धिको चाहना पूरा गर्न नसक्ने बताउँदै यसका लागि सरकारले कूटनीतिक क्षेत्रमा अवलम्बन गर्ने नीतिमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनीहरुले दुई ठूला राष्ट्र चीन र भारतको सम्बन्धबाट नेपालले आर्थिक लाभ हासिल गर्नसक्ने बताउँदै लगानीको क्षेत्र वृद्धि गर्दै पर्यटकीय गन्तव्यकारुपमा नेपाललाई विकास गर्दै जानुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्