२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फास्ट ट्र्याकको ठेक्काले सेना फेरि विवादमा : आर्थिक प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिने तयारी


0
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत फेज टु खण्डमा दरभाउको प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने तयारी गरेको छ । २१ कम्पनीले प्रतिस्पर्धा गर्न खोजेकोमा सेनाले एउटा मात्र कम्पनीलाई योग्य ठानेकोले अब आर्थिक प्रतिस्पर्धाको विकल्प नै बन्द भएको छ । 

काठमाडौं–निजगढ फास्ट ट्र्याक (७२.५ किलोमिटर) अन्तर्गत करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । सुरुङ र जटिल प्रकृतिका पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । फेज वानका लागि २३ अर्ब ४० करोड र फेज टुका लागि ११ अर्ब ७० करोड लागत अनुमान छ । 

दुवै फेजमा सुरुङ र जटिल प्रकारका पुल बनाउने काम छ । फेज वानका लागि २१ र फेज टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तर, आश्चर्य, फेज वानका लागि दुई र फेज टुका लागि एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् । यसरी २३ अर्ब ४० करोडको ठेक्कामा दुईवटा कम्पनीबीच प्रतिस्पर्धा हुनेछ । ११ अर्ब ७० करोडको ठेक्कामा भने आर्थिक प्रतिस्पर्धा नै नहुने भएको छ । यसरी प्रतिस्पर्धाको विकल्प बन्द भएकोले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ । 

‘फेज टुमा प्रतिस्पर्धाका लागि एउटा मात्र कम्पनीको योग्यता पुगेको छ । प्रतिस्पर्धामा अर्को कम्पनी नभएको हुनाले ठेक्का उसैले पाउने सम्भावना प्रबल छ । यसको अर्थ ठेक्का नै अवार्ड भइसकेकोचाहिँ होइन, प्रक्रिया अझै बाँकी छन्,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने । 

प्रतिस्पर्धाका लागि एउटा मात्र कम्पनी योग्य साबित भएकोले आर्थिक प्रतिस्पर्धा हुने सम्भावना नभएको सैनिक प्रवक्ताको भनाइ छ । ‘दरभाउमा प्रतिस्पर्धा नहुनेजस्तो देखिन्छ, किनभने एउटा कम्पनी मात्रै छनोट भएको छ,’ पौडेलले भने, ‘हामीले त जतिसक्दो धेरै कम्पनी छनोट गर्न खोजेका हौँ । तर, प्रि–क्वालिफिकेसन चरणमा प्रतिस्पर्धा गर्दा एउटा कम्पनीको मात्रै योग्यता पुग्यो । त्यसो हुँदा अन्य कम्पनी छनोट गर्न सकिएन ।’

फेज वानतर्फ चिनियाँ कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ छनोट भएका छन् । छनोट भएका दुई कम्पनीबीचको प्रतिस्पर्धामा जसले कम मूल्य कबोल गर्छ उसैले ठेक्का पाउनेछ । तर, फेज टु निर्माणका लागि चिनियाँ निर्माण कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरेको हो । यी अरू २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन् । कतिसम्म भने फेज वानतर्फ २३ अर्बको ठेक्कामा प्रतिस्पर्धा गर्न योग्य मानिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ ११ अर्ब ७० करोडको प्रतिस्पर्धाका लागि भने अयोग्य ठहर भएको छ । जब कि फेज वान र टुको कामको प्रकृति भने एउटै हो ।नयाँ पत्रिका