चितवनमा ५३ प्रजातिका चराहरु भेटिए • Image Khabar Image Khabar


चितवनमा ५३ प्रजातिका चराहरु भेटिए


Imagekhabar
४ माघ २०७७, आईतवार १८:३३

चितवनमा ५३ प्रजातिका चराहरु भेटिए

चितवन, माघ ४ । यस पटकको जलपंक्षी गणनाका क्रममा चितवनमा ५३ प्रजातिका चराहरु भेटिएको छ ।

बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले पौष २६ देखि माघ १ गतेसम्म चितवनका सिमसार, नदी, तालमा जलपंक्षीको गणना गरेको हो ।

बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीका अनुसार ५ प्रजाति यसपालि देखिएनन् ।

उहाँका अनुसार वन सुउसुडीया, कलहाँस, हलीमुख, हिग्लिन, गंगा चिल र प्रसान्त सर्षपी प्रजातीका चरा यस पटकको गणनामा कतै पनि फेला परेनन् ।

त्यस्तै यसअघि नदेखिएको एक प्रजाति स्वेत माथा कलहाँस भने यस पटक देखिएको चौधरीले जानकारी दिनुभयो ।

उक्त प्रजातिको चरा माडीको रिउ खोलामा भेटिएको हो ।

यसपटकको गणनामा सवैभन्दा धेरै जलकौवा र चखेवा देखिएका छन् ।

लगभग १३ सयको हाराहारीमा जलकौवा र एक हजारको हारहारीमा चखेवा देखिएको जनाइएको छ ।

सबै भन्दा कम अर्थात् एउटामात्रै देखिएको प्रजाति भने स्वेतमाथा कलहाँस रहेको चौधरीको भनाई छ ।

गणनामा सोसाइटीका स्वयम्सेवक, समितिका पदाधिकारी, पंक्षीविदहरुको सहयोग रहेको थियो ।

दुरविन, टेलिस्कोप, क्यामेरा,जीपीएस, लगायत विभिन्न पुस्तकहरुको सहयोगमा चरा गणना सम्पन्न भएको हो ।

नेपालमा २०५३ सालदेखि चरा गणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्