पृथ्वीनारायण शाहको अवमूल्यन गर्दा विषे नगर्चीको सम्मान हुँदैन • Image Khabar Image Khabar


पृथ्वीनारायण शाहको अवमूल्यन गर्दा विषे नगर्चीको सम्मान हुँदैन


Imagekhabar
२७ पुष २०७७, सोमबार १३:०९

sanjib karki article

सञ्जीव कार्की ।

पृथ्वीनारायण शाह सम्मानित र तारिफयोग्य पात्र बनेका कारण राजकुल र राजा भएको कारण मात्रै होइनन् । पृथ्वीनारायण शाह गौतम बुद्ध पछिका ठूला चेन्ज मेकर हुन् । यसमा बादबिबाद गर्न सकिएला तर पल्लाभारी चै नेपाल एकीकरणकै पक्षधरताको हुनेछ । उनको योगदानलाई छायाँमा पार्ने र विस्तारवादी, नश्लवादी एकल धर्म सम्प्रदायको वर्चस्व भएको राज्य निर्माणको दोष र अत्याचारी शासकको रूपमा चित्रित गर्ने अभियान अतिवादी र धरातलीय यथार्थलाई आँखा चिम्लने धृष्टतामात्रै हो । यद्यपि, राज्य एकीकरणको आवेग र बल प्रयोगमा भएका मुर्खतापूर्ण अभ्यास र बिरोधीहरुलाई गरिएको दमनले केही आलोचना र निन्दा प्राप्त भएको छ जुन अस्वाभाविक तर्क होइन तर अब बिगतलाई निन्दा गरेर र सरापेर बस्नुपर्ने स्थिति छैन ।

एकीकरण, राज्य विस्तार, राज्य विप्लव र व्यस्था परिवर्तनका लागि भएका क्रान्ति, युद्द र राजनीतिक मुठभेडमा ज्यादती अपराध र मानवता बिरोधि हर्कत भएर मान्छेहरु मारिएको इतिहास छ । यसबाट नेपाल र पृथ्वीनारायण शाह अपवाद बन्न सक्ने स्थिति थिएन, हुदैन ।
जित्नेले आफूअनुकूल केही प्रभाव, छाप र निर्णय गराउने स्वाभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट हेर्ने हो भने अस्वाभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउन इतिहास पढ्दा तर्क भेटिएन। यसर्थ पृथ्वीनारायण दूरदर्शी राजामात्रै नभएर लडाकू र राजनीतिज्ञ पनि थिए । त्यसैले उनको सम्मान वर्तमान नेपालको पनि सम्मान हो ।

चिनियाँ लोककथन यहाँ सान्दर्भिक छ– ‘तिमीले जुन पोखरीको पानी खान्छौ त्यसको निर्मातालाई सम्झने पनि गर ।’ अर्थात् कृतज्ञ हुनु गुणग्राहीप्रति नतमस्तक हुनु मानव प्राणीको नैसर्गिक गुण र स्वभाव हो। चिनियाँ लोकोक्ति र हाम्रै समाजको दृष्टान्तबाट पनि हामी भन्न सक्छौं, हाम्रा पुर्खाको पौरख र उपलब्धि उपभोग गर्दा ती पौरखी पूर्वजप्रति आदरभाव राख्ने उचित सम्मान दिने र सदा स्मरण गर्ने कार्यबाट हामी विमुख हुन सक्दैनौं। त्यसो गर्न मिल्दा पनि मिल्दैन र त्यो हाम्रो संस्कृति पनि होइन ।

लोकहीत र कल्याणका लागि भनेर धारा, कुवा बनाउने, चौतारो निर्माण गर्ने, वरपीपल रोप्ने हाम्रा पुर्खाको समाजमा नाम लिने चलन आज पनि छ। गुणग्राही बन्नु, कृतज्ञ हुने मानवजातिको संस्कार हो। झन् हामी नेपालीमा त्यो कृतार्थ भाव धेरै हुनु वैदिक र सनातन संस्कृतिको सन्तति हुनुको कारण हो। प्रमाण हो। दुश्मनप्रति पनि मानवीय करुणा तृषित हुने हाम्रो मौलिकता जीवित छ भने आफ्ना पुर्खा र पौरखी इतिहासको सम्मान किन नगर्ने, गुणगान किन नगर्ने ? हामी आफ्ना बितेर गएका पूर्वजप्रति सधैं सम्झेर वर्षमा एक दिन भए पनि स्मृति दिवस (चल्तीको भाषामा श्राद्ध) मनाउँछौं, सम्झन्छौं। पिण्डदान गर्छौं, विशेषतः हिन्दूहरुले।

अन्य धर्म र धर्मावलम्बीहरुको पनि आफ्ना बितेर गएका पुर्खा सम्झने फरक संस्कार र तरिका छन्। पितृको स्मरण गर्ने रीत र संस्कार सबै धर्म र समुदायले अबलम्बन गरेको पाइन्छ। पुर्खा स्मरणको ध्येय र अन्तर्निहित यथार्थ भनेको उनीप्रतिको सम्मान हो। भावनाको अटुट गोरेटोलाई निरन्तरको कडीमा जोड्छ l जसले अघिल्लो पुस्ताप्रति सधैं अनुग्रहित र कृतज्ञ हुन सिकाउँछ।
२७ को पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस केही वर्षदेखि छायाँ र विवादमा छ। राज्यका तर्फबाट औपचारिक बिदा दिन छाडिएपछि पृथ्वीनारायण शाहको योगदानको महत्व र गरिमामा अनेकन कोणबाट बहस र छलफल भएका छन्। राज्यले गणतान्त्रिक प्रणाली अबलम्बन गरेपछि पूर्वराजाको रुपमा मात्रै हेरेर पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन भएको धेरैको ठहर छ ।

वौद्धिक वर्ग र इतिहासकारहरु इतिहासलाई अवमूल्यन गरेकोमा खिन्न देखिन्छन्। बिदा दिएर फगत औपचारिकतामात्रै निर्वाह गर्नु र कसैको योगदान, गौरव र पुरुषार्थप्रति अनुग्रहित हुनु बेग्लै कुरा हो। राज्यले दिने औपचारिक बिदाभन्दा ठूलो कुरा हो सम्मानको संस्कृति । पूर्वजप्रति कृतज्ञ हुने असल मान्यता र परम्पराबाट कतै हामी भाग्दै त छैनौं? आफ्नो धर्म, संस्कृति र परम्पराले सिकाएका असल कुरा बिर्सेर गलत बाटो र भ्रस्टीकरणतर्फ त देशलाई हिडाईं राखेका त छैनौं? ख्याल गर्नुपर्ने, मनन गर्नुपर्ने र सच्याउनुपर्ने कुरा यही हो । परिवर्तन र क्रान्तिको नाममा हामी जे भुल गर्दैछौं, त्यो अक्षम्य छ। जन्म दिने बाबु-आमा र देश कहिल्यै भुल्न नहुने संसारका सबैभन्दा ठूला भनिएका मान्यता र विचारभन्दा माथिका सत्य हुन्।

राजा भएकै कारण पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्नु भनेको आफ्ना पितापुर्खाले राज्य निर्माणमा गरेको योगदान र बलिदानप्रति बेइमान हुनु हो। गौरवको इतिहासलाई खुम्च्याउनु हो। माटोको मायालाई लत्याउनु हो। आमाको ममताप्रति प्रश्न उठाउनु हो । बाबुको काँधलाई होच्याउनु हो। आफूले फेरेको श्वासप्रति अनविश्वास प्रकट गर्नु हो। पृथ्वी नारायणलाई होच्याउदा विषे नगर्चीको सम्मान हुँदैन । विषेले दिएको अर्थ संकलनको उपाय आजका अर्थ मन्त्रीको हैसियत भन्दा माथि राख्न सकिन्छ । एकीकरणको सबालमा पृथ्वीनारायणकालिन हाम्रा पूर्वज र विषे आज पनि सम्मानयोग्य श्रद्धेय छन् ।

समग्रमा आफ्नो परिवेश, परिस्थिति, अस्तिव र माटोको वासनालाई नामेट पार्ने कुत्सित भावनामा बहकिनु हो। आफ्नो जरा भुल्नु भनेको आफ्नो अग्रज र पूर्वजबाट आफूलाई अलग्याउनु हो। अब कसैले सिकाएको दुर्नियतको सिकार बन्ने हैन, आफ्नो मौलिक अस्तित्व बचाउन लागिपर्ने हो। त्यसको सुरुवात सबै नेपाली मिलेर आधुनिक नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रति कृतज्ञ बनेर यो माटोको कसम खाएर नेपालको समुन्नतिका लागि आस्थाको दीप प्रज्ज्वल गर्न कन्जुस्याँई हामीलाई सुहाउँदैन। हाम्रो आदर्शसँग मेल खाँदैन।
०००

जसले जे भने पनि, जस्तो आरोप लगाए पनि राजा पृथ्वीनारायण शाहको तत्कालीन निर्णय दूरगामी अनि नेपाल र नेपालीको हितको खातिर नै थियो छ र रहनेछ। भलै राजा हुनुको नाताले उनको महत्वाकांक्षी योजना र शक्तिशाली देशको राजा हुने चाहना पक्कै पनि एकीकरणको कारक तत्व हो । तथापि, उनको सपनाले नेपाल निर्माण गर्यो । २० वर्षको उमेरमा राज्य एकीकरणको नेतृत्व गर्ने राजा असामान्य रणकौशल भएका कारण नै आधुनिक नेपालको एकीकरण सम्भव भयो। विशाल राष्ट्रको चक्रवर्ती सम्राट बन्ने सपना एक राजकुमार हुनुको नाताले नै सम्भव भएको कुरा बिर्सन मिल्दैन ।

पृथ्वीनारायण शाहको नायकत्वमा हाम्रा वीर पुर्खाको योगदानलाई विस्मृतिमा राख्न सकिन्न। पृथ्वीनारायण शाहसँगै हाम्रा पुर्खाको स्मरण आजको आवश्यकता हो। आजको पुस्ताले जान्नुपर्ने, बुझ्नुपर्ने र बझाउनुपर्ने तथ्य के हो भने पृथ्वीनारायण शाहको सम्मान गरेरआफूले होचो भएको महसुस गर्नु पर्दैन। अरुको सम्मानले आफ्नो पनि सम्मान अभिवृद्धि हुन्छ भन्ने कुरा हेक्का राख्न कथित क्रान्तिकारी नेता र कार्यकर्ताले जरुरी छ ।

इतिहास बिगारेर, अपव्याख्या गरेर, अवमूल्यन गरेर वर्तमानमा कहीँ पुगिँदैन। इतिहास गलत गर्नेको पनि हुन्छ र लेखिन्छ। सही र गलत कुन हो ? छुट्याउन पनि इतिहासको उज्यालो र अँध्यारो दुवैपक्ष जान्न आजको अध्ययनले खोज्दछ। अँध्यारो भएर नै उज्यालोको महत्व बढ्छ। तसर्थ इतिहास मेट्ने र पुछ्ने घाती वुद्धि कसैको पनि नभएकै राम्रो ।

नेपाल राज्यको एकीकरण तत्कालीन आवश्यकता र औचित्यको आधारमा सही थियो। इतिहासको माग थियो जुन दायित्व पृथ्वी नारायण शाहले वहन गरे। सही समयमा सही मान्छेको नेतृत्वमा थियो भन्ने कुराको पुष्टि हुन कुनै प्रमाण र आधार जुटाउनु पर्दैन। जे छ देश नै प्रमाण हो। देशको आजको अस्तित्व र पहिचान नै काफी छ। बहुआयामिक र कुशल रणनीतिक खुबीका तत्कालीन राजा पृथ्वीनारायण शाह बहुत चतुर र समय परिस्थितिको आँकलन गर्ने व्यक्ति थिए।

देश बनाउन कसै न कसैको महत्वाकांक्षी योजना साहस, संकल्प र दुरदर्शीता चाहिन्छ नै। जसरी नेपाल एकीकरण तत्कालीन आवश्यकता थियो, त्यसरी नै राजा पृथ्वीनारायणको नायकी तत्कालीन अपरिहार्य आवश्यकता थियो। आजको युग चेतनाका दृष्टिकोणबाट तत्कालीन समयका कतिपय ज्यादती सह्य देखिँदैन तर महान उपलब्धि पछाडिका केही कमजोरी र त्रुटिलाई आजको परिवेशसँग दाँजेर हेर्न सकिन्न विस्मृतिको गर्तमा हुत्याउनै पर्छ।

विश्व परिस्थिति नै युद्धमय थियो। नेपाल एकीकरणको वस्तुगत आधार पनि युद्धमय विश्वमा आफ्नो अस्तित्व कायम राख्नका लागि बलियो भएर बस्नु पर्ने थियो। ससाना टुक्रे राज्य सधैं एकआपसमा टकराएर बस्नुपर्ने भय, अन्योल र युद्धमा जीवन व्यतित गर्नुपर्ने त्यो समाजको मनोविज्ञान पृथ्वीनारायण शाहले राम्रोसँग बुझेका थिए।

त्यतिबेला बेलायतको बढ्दो सैन्य शक्तिको त्रास र उन्माद विश्वभर व्याप्त थियो। रुस र पर्सियाबीचको युद्ध, अंग्रेज र स्पेनबीचको युद्ध, रुस र टर्कीबीचको घमासान लडाइँ, चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको अभियान, हिन्दूस्तानमा मुगलहरुको दयनीय स्थिति र टुक्रा-टुक्रा भएर रहनुको विषम परिस्थिति, त्यति नै बेला हिन्दूस्तानलाई आफ्नो आधिपत्यमा राख्ने चतुर बेलायती साम्राज्यको तयारीजस्ता कारण पनि आफू बलियो भएर रहन आफ्नो वरपरका सबै राज्य एक बनाएर राख्ने सपना बुनेका थिए, पृथ्वीनारायण शाहले । तसर्थ उनको नेपाल राज्य एक बनाउने अभियान औचित्यपूर्ण र तर्कसंगत थियो भन्न सकिन्छ। हिमवत खण्डभित्रको मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउन पृथ्वीनारायण शाहले जे गरे सामयिक काम गरे ।

तत्कालीन विश्वमा एकीकरण, राज्य बिस्तार, मतअभिमतको आधारमा सम्भव थिएन। केवल युद्ध गरेर परास्त गर्नु नै तत्कालीन समयको अभ्यास थियो। तत्कालीन परिस्थितिको उपज र बाध्यतालाई लिएर आज पृथ्वीनारायण शाहलाई विस्तारवादी र मिचाहा राजा भन्नु तर्कसंगत होइन र यो विवादको विषय पनि होइन, जुन बनाँइदैछ।

आजको प्रजातान्त्रिक युगको चेत र तत्कालीन चेतलाईसँगै राखेर दाँज्न सकिन्न। तर पनि यदाकदा शासकहरु दिग्भ्रमित हुँदा, पृथ्वीनारायण शाहको एेतिहासिक योगदानलाई कुठाराघात गर्ने प्रयास गरिएको छ। अनेक भ्रामक र कल्पित आरोप लगाएर देश एकीकरण गर्ने नायकलाई अपमान गर्ने, थुक्ने र घृणा फैलाउने, शालिक तोड्ने जुन अवान्छित कार्य हुँदै आएको छ, एक सच्चा नेपालीका लागि त्यो सहन गर्न सकिने विषय होइन। मन नलागे उनलाई नमान्न पाइन्छ। तर, थुकेर घृणा गरेर अर्को पक्षलाई उत्तेजित पार्नुहुँदैन, मिल्दैन र त्यो सर्वथा निन्दनीय कुरा हो ।

युद्धका क्रममा पृथ्वीनारायण शाहको पक्षबाट पनि कमजोरी भए होलान्। त्यसलाई नकार्न सकिन्न। तर, सजायँस्वरूप १७ धार्नी नाक-कान काटेर कीर्तिपुरेहरुको बिजोग बनाएको कुरा चर्को गरी चल्छ। जसको तर्क न्यायोचित लाग्दैन। के त्यतिबेलाको जनसंख्या अनि सैनिक संख्या त्यो १७ धार्नी नाक–कान काट्न पुग्ने थियो होला? अनि राज्यमा भएभरका सबैको नाक-कान काट्नुपर्ने यथेस्ट कारण केवल अत्याचारका लागि मात्रै हो त ?

एउटा बिर्सन नहुने कुरा के हो भने युद्धका क्रममा प्रतिशोध र बदला लिने क्रममा केही नाजायज युद्धविरोधी गतिविधि पनि भएका हुनसक्छन्। जसलाई भुल्नु, विस्मृतिमा राख्नुको विकल्प हुन्न, कारण पृथ्वीनारायण शाहले राज्यको मात्र एकीकरण गरेनन्, एकीकरणमा विजेता राज्य गोर्खालाई नेपाल राज्यमा विलय गरे र ठूलो छाती प्रदर्शन गरे।

संसारकै प्राचीन सभ्यता संस्कृति भावनाको एकीकृत रूप हो आजको विश्व। त्यसकै अविच्छिन्नताको एक अंश हो नेपाल। नेतृत्वका नायक पृथ्वीनारायण थिए। यसका सहनायक बिसे नगर्चीलगायत हाम्रा वीर पुर्खा र सिपाहीहरु भएको तथ्य पनि जीवन्त छ। पृथ्वीनारायण शाहले आफ्ना कालजयी दिव्य उपदेशमार्फत् समाजको, राजनीति, अर्थनीति परराष्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताहरु कसरी सञ्चालित हुनुपर्छ भन्ने सिद्धान्तहरुलाई सरलीकृत गरेका छन्।

कार्ल मार्क्सभन्दा पनि जेठा, अब्राहम लिंकनभन्दा पनि पहिलेका, महात्मा गान्धीभन्दा पनि अघिका पृथ्वीनारायण शाहको परिचय र परिधि आफ्नै भूमिमा पनि खुम्च्याउने, विवादित बनाउने हामी निकृष्ट कर्ममा छौं। बुद्धपछिका महान सपुत पृथ्वीनारायण शाह हाम्रा देशका निधि हुन्। आज पनि उनका दिव्य उपदेश उत्त्तिकै सान्दर्भिक र हाम्रो अवस्थितिअनुकूल छन् । पृथ्वीनारायण शाहका विचार र दर्शन विश्वमा प्रचलित प्रख्यात विचार र दर्शनको हाराहारीमा छन्, उत्कृष्ट छन्। सधैं उपयोगी र सारगर्वित छन ।

इतिहासको अंकमा पृथ्वी नारायण शाह –

१७७९ मा गोरखा दरबारमा जन्म। २० वर्षको १७९९ मा उमेरमा राजा। ३२ वर्षको पुरै शासन अवधि नेपाल एकीकरणको योजना र लडाइँमा तल्लीन भएर ५२ वर्षको अल्पायुमा नुवाकोटको देवीघाटमा १८३१ मा निधन भयो । उनको निधन भएको ४२ वर्षपछि १८७३ मा सुगौली सन्धि नहुन्जेल नेपाल एकीकरणको प्रयास उनका छोरा, बुहारी तथा नातिको नेतृत्वमा चलिरह्यो।

सानो, साँघुरो र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्यो् भने तत्कालीन परिस्थितमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समयसापेक्ष दूरदर्शीता प्रदर्शन भएको पाइन्छ। पृथ्वीनारायण आधुनिक नेपालका निर्मातामात्र नभएर दक्षिण एसियामा इशाई धर्म, त्यसले संरक्षण दिएका युरोपेली व्यापारी, तिनका कम्पनी तथा साँठगाँठका साम्राज्यवादी शक्तिका विरोधी थिए र हरहालतमा तिनीहरुलाई नेपालमा घुसपैठ हुन नदिनेमा पूर्णकटिबद्ध थिए। उनको त्यही प्रतिबद्धताले नै आज नेपाल एक स्वाधीन राज्य रहन सफल छ।

देशभक्त हुन कुनै वादी हुनुपर्दैन मात्र नेपाली भए पुग्छ। पृथ्वीनारायण शाहलाई एउटा राजाको रुपमा मात्र हेर्ने बुझ्ने चेष्टा गलत छ। राजा नै भएर पनि सही काम गर्दा आरोपित र दण्डित हुनुपर्ने कारण हुँदैन । पृथ्वीनारायण शाहको सट्टा त्यतिबेला जुन राजाले एकीकरण गरेको भए पनि राष्ट्रनिर्माता मान्न हामीलाई अप्ठ्यारो हुने थिएन। किनकि यहाँ कामको गुणको मूल्यांकन गर्ने परिपाटी होस् । हामीलेचाहेको यही हो । को राष्ट्रनिर्माता भयो, कुन कूल वंश परम्पराले त्यसको नेतृत्व लियो? त्यो ठूलो कुरा भएन। कसले राष्ट्र निर्माण गर्योन, महत्वपूर्ण त्यो हो।

राज्य कसैप्रति पनि पूर्वाग्राही बन्न मिल्दैन। आफ्नो देश बनाउने राष्ट्र निर्माताको अवमूल्यन गरेर कुनै पनि देश बनेका उदाहरण छैनन्। सम्मानको नाममा राज्यलाई भारपर्ने गरी बिदा दिनुपर्दैन। सिर्जनात्मक, रचनात्मक कार्य गरेर व्यक्तिको सम्मान गर्न राज्यले ध्यान दिनुपर्छ । पुस २७ गते राज्यले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस मनाउने संकल्प गरेर २००९ देखि आफ्नो नेतृत्वमा योगी नरहरिनाथले जुन पुण्य कर्म र संकल्प गरे, त्यो नाजायज कहीँकतैबाट पनि देखिन्नँ। देशको जग बसाल्ने परम्परागत धर्म संस्कृति र धरोहरको रक्षा नै देशको भावनात्मक एकताको सेतु हो ।

नेपाली स्वाधीनता जोगाउन स्थानीय परम्पराको रक्षाको नीति थियो। चार जात छत्तीस वर्णको साझा फूलबारीको रुपमा देशलाई चित्रित गरि सबैको अपनत्व यिनले स्वीकार गरेका थिए। युगपुरुषको गहन सोच र व्यवस्थापकीय क्षमता उनका उपदेशमार्फत् प्राप्त विचार र दर्शन आज पनि उत्तिकै मननयोग्य र राजनीतिज्ञका लागि प्रेरणा पूञ्ज हो ।

आफ्नै माटोको सुगन्धबाट निस्केको दर्शनहरुको महादर्शन, विचारहरुको महाविचार र दृष्टिहरुमा महादृष्टि हो उपदेश संग्रह। पृथ्वीनारायण शाहका दिव्य उपदेशबाट अर्थशास्त्र, दर्शनशास्त्र, न्यायशास्त्र, समाजशास्त्र, व्यवस्थापनशास्त्र, कूटनीतिकशास्त्र र राजनीतिशास्त्रका ठेलीहरु निर्माण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्