काठमाडौं । कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ । त्यसका लागि सरकारले भारतसँग चरणबद्ध छलफल गरिरहेको छ ।
कोभ्याक्सको खोप सन् २०२१ को पहिलो चौमासिकपछि मात्रै आउने जानकारी पाएकाले त्यसअघि नै खोप किनेर जनतालाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयका कोरोना खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । कोभ्याक्स सुविधाबाट पनि २० प्रतिशत जनतालाई पुग्ने खोप आउँछ ।
सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतको सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरिरहेको एस्ट्राजेनेका र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खरिदका लागि छलफल गरिरहेको छ । यी भ्याक्सिनले भारतमा इमर्जेन्सी भ्याक्सिनेसनका लागि अनुमति पाइसकेका छन् । नेपालले मूल्यलगायत विषयमा औषधि उत्पादक कम्पनीसँग समन्वय गरेर सहजीकरण गरिदिन भारतलाई आग्रह गरेको थियो । तापक्रम मिल्ने र नेपालले स्टोरेज गर्न सक्ने भएकाले पनि यी दुई कम्पनीका खोप ल्याउन सरकारले द्विपक्षीय छलफल गरिरहेको छ ।
दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले तीन सातादेखि खोप खरिदका लागि यी दुई कम्पनीका अधिकारीसँग छलफल गर्दै आएका छन् । आचार्यले दुई साताअघि सेरमका अतिरिक्त निर्देशक प्रकाश सिंहसँग नेपाली दूतावासमै छलफल गरेका थिए । त्यस्तै, शुक्रबार सेरमका महाप्रबन्धक प्रसेन आध्यासँग पनि खोप खरिदबारे छलफल गरेका छन् । राजदूत आचार्यले २२ पुसमा भारत बायोटेकका कार्यकारी निर्देशक डा. भी कृष्णमोहन र उनको टिमसँग छलफल गरेको नेपाली दूतावासले जनाएको छ । छलफलमा दुवै कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने सहमति जनाएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप उपलब्ध गराउन भारतीय समकक्षी डा. एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीलाई चिठी लेखेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार खोपका लागि दूतावासका तर्फबाट भारतको नीति आयोग, स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालयसँग समन्वय भइरहेको छ । भारत सरकारको सहजीकरणमा निजी कम्पनीहरूबाट खोप खरिद गर्ने सरकारको योजना छ । तर, भारतबाटै खोप खरिद गर्ने निर्णय भने भइसकेको छैन । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्