प्रतिनिधि सभा विघटन संवैधानिक– बामदेव गौतम « Image Khabar


प्रतिनिधि सभा विघटन संवैधानिक– बामदेव गौतम


Imagekhabar
२३ पुष २०७७, बिहीबार १३:३५

काठमाडौं । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताउनुभएको छ ।

विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकोले त्यसलाई असंवैधानिक भन्न नहुने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपनि आफूले यसलाई असंवैधानिक नभन्ने उहाँको तर्क छ । ‘यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुनर्स्थापना भए पनि असंवैधानिक भएर पुनर्स्थापना भयो भन्ने छैन ।’ असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नहुने नेता गौतमको भनाइ छ ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उहाँको भनाइ छ । उहाँले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीले अल्पमतमा परेपछि राजीनामा दिएको पार्टी जोगिने उहाँको तर्क छ । ‘अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’

राष्ट्रिय सभा बैठकमा गौतमले पहिलो पटक आफ्नो धारणा राख्नुभएको हो । यसअघि बसेको बैठकमा उहाँले आफ्नो धारणा राख्न पाउनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्