
सुनसरी, साउन ५ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको शनिबार अन्त्येष्टि गरिएको छ ।
साउन १ गते निधन भएका सुब्बाको धरानमा लिम्बू संस्कारअनुसार दाहसंस्कार गरिएको हो ।
परिवारका सदस्य विदेशमा रहेका कारण दाहसंस्कारमा ढिलाइ भएको थियो ।
दुई साताभन्दा लामो समयदेखि छातीको संक्रमणबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारकाक्रममा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको थियो ।
शनिबार धरान–१७ स्थित सुब्बाको घरबाट निकालिएको पार्थिव शरीरलाई धरान उपमहानगरपालिकाको प्रांगणमा केहीबेर राखेर पब्लिक उच्च माविको खेलमैदानमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
सुब्बाप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईलगायतका नेता र स्थानीय जनताले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
सुब्बाको पार्थिव शरीरमा रक्षामन्त्री पोखरेल र मुख्यमन्त्री राईले संयुक्तरुपमा राष्ट्रिय झन्डा ओडाएर सम्मान गरेका थिए ।
नेकपाका सुनसरी सदस्यसमेत रहेका सुब्बालाई नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले पार्टीको झन्डा ओढाएका थिए ।
सुब्बाको पार्थिव शरीरलाई छाताचोक, पुरानोबजार, भानुचोक, पुतलीलाइन जिमिचोक हुँदै धरानबजार परिक्रमा गरी हरियाली सामुदायिक वन क्षेत्रमा लगेर दाहसंस्कार गरिएको हो ।
सुब्बा २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट धरानको मेयरमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्